जफत गरेको प्याज, सरकारले आज बाट ६० रुपैयाँ किलो बिक्रिगर्दै

०८ असोज २०७७ विहिवार
काठमाडौं । सरकारले कालोबजारी गर्ने व्यापारीबाट जफत गरेको प्याज बिहीबारदेखि विक्री वितरण गर्ने भएको छ। सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्न स्थानका व्यापारीबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत बिहीबारदेखि बिक्री वितरण गर्ने भएको हो।

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायी सहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको थियो। तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट विक्री वितरणको काम सुरु हुने बताइन्। उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० रुपैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत उनको भनाइ छ।

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए। बजारमा प्याजको भाउ अत्यधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अनुगमन गरेको थियो। कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो। सोही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट बिक्री गर्न लागिएको हो। प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ।

यहाँ कमेन्ट गर्नुहोस्