त्रियुगाको मेयर बन्न आधा दर्जन आकांक्षी, कसले मार्ला बाजी ?

२० चैत्र गाईघाट । आगामी बैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सरगर्मी उदयपुरमा बढेको छ । उदयपुरका ८ वटा पालिकाहरुमध्ये सबभन्दा बढी चर्चा त्रियुगा नगरपालिकाको रहेको छ । त्रियुगा नगरपालिकाको आगामी नेतृत्वमा कसले बाजी मार्ला भन्ने चर्चा अहिले चोक चोकमा छ । त्यसमा पनि अन्य पार्टीबाट त्रियुगा नगरपालिकाको मेयरको उमेद्वार लगभग पक्कापक्की भईसकेको छ भने नेपाली काँग्रेस भित्र भने आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् ।

स्थानीय निर्वाचनमा त्रियुगा नगरको मेयर हत्याएको बलदेव चौधरी नेकपा एस बाट त्रियुगा नगरपालिकाको मेयरको उमेद्वार हुने पक्का पक्की छ । नेकपा माओवादीबाट भने यसअघि पनि उम्मेदवारी दिएका युवा नेता किरण राई बाहेक अरु कसैको चर्चा चलेको छैन । उता, नेकपा एमालेबाट ईश्वरमणी राउत र भागवत राउतको नाम बाहिर आएको छ ।

तर नेपाली काङ्ग्रेसबाट मेयरका आकांक्षी धेरै भएका कारण उम्मेदवारबारे स्पष्ट हुन सकेको छैन । यसअघिको निर्वाचनमा मेयरका उम्मेदवार रहेका पूर्व क्षेत्रिय सभापति बसन्त बस्नेत पनि दोहोरिने मन गरेका छन् । बस्नेतसँगै १ न प्रदेशका सह-महामन्त्री विनोद बस्नेत, त्रियुगा नगर सभापति प्रकाश खड्का, प्रदेश १(ख)का सभापति सरोज बस्नेत युवा नेता राकेश खत्री पनि मेयरका आकाङ्क्क्षी छन् ।

अमूर्त अनलाईन सँग कुराकानी गर्दै नेपाली काँग्रेस उदयपुरका उपसभापति भिम चन्द्र राईले काँग्रेस भित्र त्रियुगा नगरको मेयर पदका आकांक्षी धेरै भएको स्वीकार गर्दै मेयरको उमेदवार छान्ने प्रक्रिया भने अहिले शुरुवात नै नभएको बताए । उनले प्रक्रियागत ढंगले त्रियुगाको मेयरको उमेद्वार टुंगो लगाइने बताए ।

नेपाली काँग्रेसकै अर्का एक जना नेताले भने यसपटक त्रियुगा नगरको मेयरको उमेद्वारको रुपमा नेपाली काँग्रेसबाट नयाँ अनुहारले प्राथकिमता पाउने खुलाए ।

धेरै जना नेतृत्वको आकाङ्क्क्षी हुनुले पार्टीभित्र सशक्त नेता छन् भन्ने प्रमाणित हुने नेता बिनोद बस्नेतको भनाई छ । मेयरको लागि आफु सक्षम व्यक्ति भएको बताउदैं बस्नेतले काङ्ग्रेसबाट मेयरको टिकट पाउने दाबी गरे । युवा नेता राकेश खत्रिले भने घुमाउरो तरिकाले मेयरको दाबेदारी गरेका छन् । स्पष्ट रुपमा मेयरको उम्मेदवार हुँ भन्न नसकेपनि खत्रिले आफु मेयरका लागि योग्य र सक्षम भएको जिकिर गरे । उनी भन्छन्, ‘अब पालो युवाको हो । १५ वर्षसम्म गरेको सामाजिक कामको मूल्यांकन गरेर सम्भावनाको शहरलाई समृद्ध बनाउन युवालाई नेतृत्व सुम्पिनुपर्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्