वीरगंजको मेयरमा राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी

जेष्ठ १० वीरगंज___ मधेस प्रदेशको एक मात्र महानगर वीरगंज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ। महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन्।

मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका हुन्। राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे। वीरगंज महानगरपालिकामा सतारूढ पाँच दलीय गठबन्धनबाट जसपाका सिंह मेयरमा उठेका थिए। अर्कोतर्फ एमाले र लोसपाबीच भएको गठबन्धनबाट मेयरमा एमालेका सरावगी लडेका थिए।

०७४ सालको निर्वाचनमा सरावगी तत्कालीन सघिय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट मेयरमा जितेका थिए। अहिले एमालेबाट लडेका उनी सोही पार्टीका उमेदवारसँग पराजित भएका हुन्। उनलाई केहीबेरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक रूपमा विजयी घोषणा गर्दै छ।

यहाँ कमेन्ट गर्नुहोस्