मधेस प्रदेश : यस्तो छ अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम

जेष्ठ २२ जनकपुरधाम ___ मधेस सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरे । सरकारले बेटी बढाऊ, बेटी बचाऊ, चुरे जोगाऔँ मधेस बचाऔँ, सिचाइमा लगानी, किसानको खुसीयाली जस्ता अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यद्यपि छात्रालाई साइकल वितरण गर्दै आएका सरकारले अब ल्यापटप पनि वितरण गर्ने जस्ता नयाँ कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको हो । सरकारले सुरुवातदेखि नै मुख्यमन्त्री बेटी बढाऊ, बेटी बचाऊ अभियान अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ की छात्रालाई साइकल वितरण गर्दै आएको छ । अब कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप सहयोग गर्ने सरकारले घोषणा गरेको छ ।

कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउनका लागि सामाजिक विकास मन्त्रालयमार्फत कक्षा १२ मा अध्ययनरत प्रत्येक छात्रालाई एक थानका दरले ल्यापटप उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै प्रत्येक जिल्लाका एक/एक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त विद्यालयहरूसँग व्यवस्थापकीय सम्झौता गरिनेछ ।

यस्तै आवश्यकता अनुसार भौतिक तथा सामाजिक पूर्वाधार निर्माण एवं क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ । यस्तै स्वास्थ्य केन्द्रहरूमा एम.बी.बी.एस. चिकित्सकको व्यवस्था मिलाउने घोषणा पनि सरकारले गरेको छ । स्वास्थ्य सेवालाई जनस्तरसम्म पुर्‍याउन ‘स्वास्थ्य सुधार योजना’ अभियान चलाउने र सो अन्तर्गत स्वास्थ्य केन्द्रहरूमा एम.बी.बी.एस चिकित्सकको सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

पूर्णपाठ

यहाँ कमेन्ट गर्नुहोस्