निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने

जेष्ठ ३० काठमाडौं ___ निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएका हुन्। सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले सो कुराको जानकारी गराएका हुन्।

उनले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने बताए। त्यस्तै अस्थाई बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने उनले स्पष्ट पारे। ‘यो असार १ गतेदेखि फेरि मतदाता नामावली दर्ता प्रक्रिया प्रारम्भ हुन्छ। सबै जिल्ला प्रशासन कार्यालय, सबै निर्वाचन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा दर्ता गर्न सकिन्छ’, उनले भने, ‘कुनै पनि व्यक्ति काठमाडौंमा बसोबास गर्नुहुन्छ, उहाँ ताप्लेजुङको हो।

कुनै व्यक्ति पोखरामा बसोबास गर्नुहुन्छ, मनाङको हो भने पनि आफ्नो स्थायी ठेगानामा, त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ।’ प्रमुख निर्वाचन आयुक्त थपलियाले एउटा मात्र पदमा उम्मेदवारी दिने दलको उम्मेदवार महिला हुनुपर्ने गरी आयोगले कानून बनाउने बताए। ‘अहिले आयोगको तयारी के हो भने यदि कुनै दलले एउटा मात्र पदमा उम्मेदवारी दिन्छ भने त्यो महिला नै हुनुपर्नेछ यो नीतिमा पनि लेखेको छ।

अहिले हामीले ड्राफ्टमा पनि लेखेका छौं’, उनले भने, ‘त्यसकारण स्थानीय तहको मुलभूत रुपमा, नेतृत्व तहमा, कार्यकारिणी तहमा महिलाहरुको प्रतिशत बढाउन यो पर्याप्त हुन्छ। आयोगले अब बनाउने कानूनमा यसलाई तदनुसार अगाडि बढाउँछ।’ उनले यसपटक को स्थानीय तह निर्वाचनमा दलीय उम्मेदवारी र गैरदलीय मतदानको अभ्यास भएको भन्दै सोही अभ्यासका कारण धेरै मतपत्र बदर भएको हुनसक्ने तर्क गरे।

यहाँ कमेन्ट गर्नुहोस्