निजगढ विमानस्थल कुनै पनि बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

असाढ़ २ जनकपुरधाम ___  मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अर्न्तराष्ट्रिय विमानस्थल निजगढ कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन् । निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कारमा बिहीबार निजगढै पुगेर मुख्यमन्त्री राउतले मधेस प्रदेशको विकासका लागि लाइफलाइन रहेको निजगढ विमानस्थल सार्ने खेल स्वीकार्य नहुने बताए ।

सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआतिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्णपाठमा निजगढ विमानस्थलका लागि सकारात्मक सन्देश आउने आस गर्न सल्लाह दिए । ‘निजगढ विमानस्थल बन्नुपर्नेमा हामी दृढ छौं । तर विमानस्थलनको नाममा अनावश्यक रुख कटानी गर्न दिँदैनौं,’ उनले भने,‘विश्वको सबैभन्दा ठूलो विमानस्थल होइन, नेपालका लागि सुहाउँदो विमानस्थल बनाउन प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार छ ।’

निजगढमा जंगल मासेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइने भएपछि राउत सरकारले नै सर्वोच्च अदालतमा रिटसमेत हालेको थियो । तर, निजगढमै विमानस्थल बन्नुपर्ने अडानमा फेरि मुख्यमन्त्री राउत देखिएका छन् । विमानस्थलको नाममा जंगल नै सिद्ध्याउने चलखेल हुँदै आएको भन्दै राउतले निजगढवासीलाई सचेत गराए । ‘निजगढ विमानस्थल निर्माण प्रक्रिया कागजमा मात्र नभई सतहमा सुरु गराउनका लागि दबाब दिनुस्,’ उनले भने ।

निजगढवासीले केही दिनयता जारी राखेको चक्काजामसहितको आन्दोलन तत्कालका लागि स्थगन गर्न आग्रह गर्दै मुख्यमन्त्री राउतले भने,‘सर्वोच्चको फैसलाको पूर्णपाठ नआउञ्जेलसम्मका लागि आन्दोलन स्थगित गर्नुस् । पूर्णपाठ हाम्रै पक्षमा आउँछ भनेमा विश्वस्त छु । विपक्षमा आए फेरि आन्दोलन गरौंला ।’ मुख्यमन्त्री राउतले रिले अनशनमा बसेकालाई भेटेपछि सरोकार समिति चक्काजाम कार्यक्रम स्थगित गरेका छन् भने रिले अनशनलाई निरन्तरता नै दिने जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्