संघको चुनावमा वाम गठबन्धन गर्नुपर्नेमा एमालेको जोड, ओली–प्रचण्ड भेटको तयारी

असाढ़ ३ काठमाडौं___ नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् । दुई पार्टीबीच पानी बाराबारको अवस्था रहे पनि उनीहरुबीच आइसब्रेक गराउने प्रयास गरिएको छ । नेपाली कांग्रेस र एमाले दुवैका लागि चुनावी तालमेलमा माओवादी निर्णायक शक्तिका रुपमा देखा परे पनि संघीय संसदको निर्वाचनमा कोसँग गठबन्धन गर्ने भन्ने बारेमा स्पष्ट देखिएको छैन । तर एमाले र माओवादीका नेताहरुबीच धेरै पटक वार्ता र संवादहरु भएका छन् ।

उनीहरुले एक आपसमा कम्युनिष्ट शक्ति मिल्नु पर्ने आवश्यकता बारेमा छलफल गरेका छन् । अहिलेको सत्ता गठबन्धन कायमै रहे आगामी मंसिरमा हुने संघ तथा प्रदेश चुनावमा एमाले कमजोर हुन सक्ने आंकलनपछि एमाले नेताहरू माओवादी नेताहरूसँग भित्रभित्रै लबिङमा छन् । औपचारिक रुपमा यी दुई पार्टीका नेताहरूले वाम तालमेलका बारेमा छलफल गरे पनि नेताहरूका तहमा प्रारम्भिक छलफल शुरु भएको छ । त्यही क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली अहिले दोस्रो रणनीतिमा जुटेको एमाले उच्च स्रोतको भनाइ छ ।

एमालेले विभिन्न च्यानलमार्फत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसमेतलाई अनेक तरहबाट विभिन्न सन्देश दिइरहेका छन् । पौडेलले बिहीबार साँझ प्रचण्डसँग भेटघाट गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गराउने प्रयास थालिएको छ । ‘उहाँहरुबीच चाँडै नै भेटघाट हुनेछ त्यो एकल भेटघाट हुनेछ’, एक विश्वस्त स्रोतले भन्यो ।

यसअघि नारायणकाजी श्रेष्ठले ओलीसँग दुइघण्टा भेटघाट गरेका थिए । त्यसअघि प्रदीप ज्ञावाली र वर्षमान पुनबीच भेटघाट भएको थियो । श्रेष्ठले ओलीलाई भेटेको बाहेक अरु नेताहरुबीच भएको भेटघाट पनि गोप्य राखिएको छ । प्रचण्ड शुक्रबार चितवन पुगेका थिए । उनी भेटघाटकै लागि भनेर चाँडै नै काठमाडौं आए पनि ओलीसँगको भेटघाटको साइत जुरेन ।

शुक्रबार अबेरसम्म ओली रप्रचण्ड भेट गराउने कोसिस भएको भए पनि त्यसले मूर्त रुप लिएको छैन । स्थानीय तहको निर्वाचनपछि एमाले र माओवादीका युवा नेताहरुले वाम गठबन्धनलाई जोड दिँदै आएका छन् । उनीहरुले सकेसम्म सीट बाँडफाँड गरेर जाने नसके पनि जित्ने स्थानमा एक अर्कालाई सहयोग गरेर जाने नीति अख्तियार गर्न खोजेको स्रोतको दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्