मनसुन पूर्वी नेपालमा केन्द्रित, बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव

असाढ़ ५ काठमाडौँ____ नेपालमा यो पटक औसतभन्दा एक साता अघि नै मनसुन भित्रिए पनि देशभर फैलिसकेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मात्र छ । बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको छ ।

मनसुनी वायु गण्डकीभन्दा पश्चिम प्रवेश गर्न नसक्दा ती क्षेत्रमा अझै बर्खे झरी पर्न सकेको छैन। पूर्वी र मध्य नेपालमा भने नियमितजसो वर्षा हुने गरेको छ। आइतबार बिहान पनि बागमती र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकीका केही स्थानमा वर्षाको आकलन गरिएको छ ।

बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ । वर्षाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम आकलन गरिएको छ भने तराई एवं चुरेका नदी नाला, खहरे खोलामा पानीको सतह बढ्न सक्ने ठानिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्