त्रियुगाको बजेट १ अरब २३ करोड ५३ लाख ३० हजार ४४० रुपैया

११ असार गाईघाट । त्रियुगा नगरपालिकाले १ अरब २३ करोड ५३ लाख ३० हजार ४४० रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ५ करोड ५६ खाल ३५ हजार ९९० रुपैयाले बढी बजेट विनियोजन भएको छ । नगरपालिकाको नवौं नगर सभाले उपमेयर महेश्वरी राईले प्रस्तुत गरेको बजेट वक्तव्यमा नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ ।

नगरपालिकाले सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानमा २३ करोड ४८ लाख र सशर्त अनुदान तर्फ ५७ करोड २४ लाख, विशेष अनुदान ३ करोड ४९ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड ८४ लाख प्राप्त गरेको थियो । यस्तै, १ नं. प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ३२ लाख ५९ हजार, सशर्त अनुदान १ करोड २ लाख ७ हजार, समपुरक अनुदान १ करोड रकम सार्वजनिक गरेको हो ।

नगरपालिकाको आन्तरिक तर्फ १२ करोड ८५ लाख, राजश्व बाँडफाड १९ करोड ५५ लाख ८५ हजार, प्रदेश सवारी साधन कर १ करोड ७२ लाख ७९ हजार र चालु आर्थिक वर्षको बचत अनुमान ५ करोडको बजेट विनियोजन गरेको छ । विषयगत क्षेत्रमा बजेट बाँडफाँड आर्थिक विकास तर्फ १ करोड २५ लाख विनियोजन भएको छ । जुन बजेट चालुको तुलनामा आधा कम बजेट हो ।

सामाजिक विकास तर्फ २ करोड ५५ लाख, पूर्वाधार विकास तर्फ ४ करोड, वन, वातावरण, विपद र फोहरमैला तर्फ ७ लाख र संस्थागत क्षमता विकास (सुशासन) तर्फ ११ लाख २३ हजार ४४० रुपैया बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको लागि केन्द्र र प्रदेशको बजेट बढेर आएको छ भने आन्तरिक आय वृद्धिको लागि सम्पत्ति करमा वृद्धि गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्