धान र चामल निर्यातमा २० % कर लगाउने भारतको निर्णयमा वीरगंजका उद्योग व्यवसायीको विरोध

भाद्र २४ वीरगंज __ भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगंजका उद्योग व्यवसायीले विरोध गरेका छन् । भारतीय खाद्य मन्त्रालयको सिफारिसमा त्यहाको अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले आज शुक्रबार देखि लागु हुने गरि धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको हो । यस्तै भारतले कनिकाको निर्यातमा भने प्रतिबन्ध नै लगाएको छ ।यसअघि भारतबाट हुने चामल र धानको निर्यातमा भन्सार कर लाग्दैनथ्यो ।

पश्चिम बंगाल, उत्तर प्रदेश सहित केही राज्यमा वर्षाको कमीका कारण यो बर्ष भारतमा धानको उत्पादनमा निक्कै कमी आएको भारतले धान र चामलको निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गर्नुका साथै कनिकाको निर्यातमा प्रतिबन्ध लगाएको हो । विश्वमा धान उत्पादनमा भारत ,चीन पछिको दोस्रो ठूलो मुलुक हो । भारतले चामल र धानको निर्यातमा एकै पटक २० प्रतिशत कर लगाएपछि यसले नेपालमा खाद्यान्नको महङगी अझ बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द नै हुने अवस्थामा पुग्ने भन्दै नीजी क्षेत्रले विरोध जनाएको हो ।

संघले आज पत्रकार सम्मेलन गरेर भारत र नेपालको रोटीबेटीको सम्बन्धलाई समेत प्रभावित पार्ने गरी भारतले धान चामलमा कर बढाएको बताएको छ । संघका अध्यक्ष सुवोध कुमार गुप्ताले नेपालमा आयात हुने धान चामलको भन्सार शुल्कको एक तह फरक हुनुपर्ने माग गर्दा सरकारले विश्व व्यापार संगठनको सदस्यताका कारण तह फरक गरेर भन्सार शुल्क लिन नमिल्ने बताएपनि भारतले भने कर लिने निर्णय गरेकोले यसलाई रोक्न पहल गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।

उहाँले भारत, नेपालमा धान र चामल आयात गर्ने निर्विकल्प मुलुक भएको र रोटीबेटीको पनि सम्बन्ध भएकोले चामल आयातमा कर लिएपनि धान आयातको कर भने हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, सचिव आशिष लाठ, अरविन्द अमात्य लगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्