रणवीर-आलियाको ‘ब्रह्मास्त्र’ किन सफल हुँदैछ ?

असोज ३ एजेन्सी___ बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले एकपछि अर्को कीर्तिमान बनाएर कमाइ गर्दैछ। आलोचना र बहिष्कार भएर फिल्मको कमाइमा असर परे पनि फिल्मले आफ्नो ४०० करोडको बजेट कमाउने छाँटकाँट देखाएको छ। हाल भारतीय सञ्चारमाध्यमहरूले ‘ब्रह्मास्त्र’को सफलताबारे विश्लेषणात्मक रिपोर्ट लेखिरहेका छन्। रिपोर्टअनुसार ब्रह्मास्त्र सफल हुँदै जानुमा पाँच मुख्य कारण देखिएको छ।

पहिलो हो यसको भीएफएक्स। हलिउड चलचित्रमा देखिँदै आएको स्पेशल इफेक्ट्स बलिउडमै हेर्न पाएकाले यो फिल्मलाई दर्शकले रुचाएको बताइएको छ। यस्तै दोस्रो कारणमा ब्रह्मास्त्रलाई बच्चाले मन पराउनु उल्लेख छ। यो फिल्म बालबालिकाले अत्यधिक मन पराए। जसकारण उत्साहजनक व्यापार गरिरहेको छ। तेस्रो कारण हो- वर्तमानको कथालाई धार्मिक र पौराणिक कथासँग लिङ्क गर्नु। आधुनिक शिवा र ईशाले प्राचीन देव अमृताको कथालाई विस्तारै खोतल्दै जान्छन्।

यस्तै चौथो कारण यसको गीत र स्टारकास्टलाई मानिएको छ। फिल्मको ‘केशरिया’ बोलको गीत दर्शकले अत्यधिक रुचाए। यस्तै ‘देवा देवा’ बोलको गीत पनि दर्शकले खुब मन पराए।स्टारकास्टको कुरा गर्दा अमिताभ बच्चन, नागार्जुन, शाहरुख खान लगायतको भूमिका पनि महत्त्वपूर्ण भएकाले यो फिल्म चलेको अनुमान लगाइएको छ। पाँचौँ र अन्तिम कारण चाहिँ कौतुहल हो। दर्शकहरू ४०० करोड भारुको लगानीमा बनेको फिल्ममा आखिर के चाहिँ छ भनेर उत्सुक भएका कारण फिल्म चलेको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्