कतारलाई हराउँदै विश्वकपमा इक्वेडरको विजयी सुरुआत

०४ मंसिर २०७९ काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ ।

अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै इक्वेडरले सुखद सुरुआत गरेको हो ।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे ।

चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।

खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको थियो । जसमा इनरले सहजै गोल गरे ।

त्यसअघि भ्यालेन्सियाले तेस्रो मिनेटमा गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो।

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २-० को जित दिलाए ।

त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् ।

यस जितसँगै समूह ‘ए’ मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । आयोजक कतारले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।         अब समूह ए अन्तर्गत सोमबार सेनेगल र नेदरल्यान्ड्सबिच खुल हुनेछ । खेल नेपाली समय अनुसार रातको ९:४५ बजे हुनेछ।

यहाँ कमेन्ट गर्नुहोस्