पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत

माघ १३ काठमाडौं___ भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।

२०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावटलगायतका समस्या नआउने प्रमुख यादवले दाबी गरे । करिब तीन अर्ब भारतीय रुपियाँ खर्च भएको यो पाइपलाइन परियोजना २०१८ को अन्त्यमा सम्पन्न भएको थियो ।

जमिनमुनि बिछ्याइएको पौने ११ इन्चको एमएस माइलस्टिलको एउटै पाइपबाट पटकपटक गरेर पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ । अहिले डिजेल मात्र आइरहेको छ । भारतको पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखि रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्ज ३६।२ किलोमिटर गरी २६८ किलोमिटर पाइपलाइन रहेको छ ।

अहिले प्रतिघण्टा २९४ किलोलिटर इन्धन पाइपबाट आइरहेको तथा हालका दिनमा मुलुकलाई साढे पाँच दिन डिजेल र सात दिन पेट्रोल आपूर्ति गर्न सक्ने स्टक अमलेखगञ्ज डिपोमा रहेको कार्यक्रम सञ्चालक प्रशान्त भट्टराईले जानकारी दिए । खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्न पाइपलाइन परियोजनाको अमलेखगञ्जमा २०७६ कातिक ९ गते शिलान्यास गरी रुट सर्वेको कार्य सम्पन्न गरिसकेको आयल निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

यहाँ कमेन्ट गर्नुहोस्