नेपालमा मानवअधिकार उल्लंघनका घटनामा ७ हजार ३७६ जना पीडित

फाल्गुन ७ काठमाडौ___ नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीबाट दैनिक २० जना पीडित हुने गरेको पाइएको छ । तीमध्ये सबैभन्दा धेरै महिला अधिकार उल्लंघनका घटनामा पीडित छन् ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार सार्वजनिक गरेको ‘मानव अधिकार वर्ष पुस्तक-२०२३’ ले सन् २०२२ मा दैनिक औषतमा २० जनाको मानव अधिकार उल्लंघनको सिकार बनिरहेको देखाएको हो । इन्सेकका अनुसार सन् २०२२ मा मानवअधिकार उल्लंघनका घटनामा ७ हजार ३७६ जना पीडित भएका छन् । सन् २०२१ मा यस्ता घटनामा ६ हजार २ सय ८५ जना पीडित थिए ।

सन् २०२२ मा राज्य पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटनामा ५० महिला र ५ सय ७२ पुरुष गरी ६ सय २२ जना पीडित छन् भने अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ५ हजार ९४४ जना महिला, ८ सय ७ र तीन जना यौनिक तथा लैंगिक अल्पसंख्यकसहित ६ हजार ७ सय ५४ जना पीडित भएका छन् । यसमा महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी ४ हजार २ सय २८ जना पीडित देखिएको छ ।

इन्सेकका अनुसार अपहरणमा ३५, गिरफ्तारमा ८१, कुटपिटमा ४४८, बालअधिकारमा एक हजार ४५३, हिरासतमा मृत्युमा ४ र अमानवीय व्यवहारबाट २५ जना पीडित भएका छन् ।त्यस्तै, ३३३ जनाको हत्या भएको छ भने २३ जना जातीय विभेदमा परेका छन् । यो अवधिमा अभिव्यक्ति, भेला तथा संगठित हुने अधिकार हनन्‌बाट ४०५ जना पीडित छन् भने धम्की ३७, यातना ५ र महिला अधिकार उल्लंघनमा ४ हजार ३३८, कारागारमा मृत्यु ५३ र बेपत्ता २ जना छन् ।

यहाँ कमेन्ट गर्नुहोस्