१९ जेठ काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासी गरेर व्यापार घाटा कम गर्ने विषय घातक भएको बताएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै यादवले अध्यादेशमार्फत ल्याइएको बजेटमा निजी क्षेत्रको संलग्नतामा चुरेक्षेत्रमा बसोबास गराउने, बन क्षेत्रमा होटल, मोटल, रिसोर्ट खोल्ने भनिएकोमा गम्भीर ध्यानार्षण भएको बताएका छन्।
‘यसले नवधनाढ्यदेखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई/ मधेशमा ठूलो प्राकृतिक संकट आउने छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारको यस निर्णयले तराई/ मधेशका जनताले ठूलो मूल्य चुकाउनु पर्ने उनले बताएका छन्। यसो गरिएमा चुरे क्षेत्र विनास गर्ने, तराई/मधेशलाई मरुभूमिकरण गर्ने निश्चित भएको उनको भनाई छ।
यादवले ढुंगा, गिटी, बालुवा निर्यात तथा निकासीका काम बन्द गर्न भनेका छन्। उनले त्यस क्षेत्रका नागरिक आफ्नो जीवन रक्षाका लागि संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन्।