वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

भाद्र १२ जनकपुरधाम___ वरिष्ठ पत्रकार राजेश्वर नेपालीको हिजो निधन भएको छ । प्रेस स्वतन्त्रता सेनानी नेपालीको हिजो बेलुका ८ बजेर १० मिनेटमा जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका जवाइ श्रीनारायण साहले जानकारी दिएका छन् । उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए । आफ्नो जन्मदिन भन्दा सात दिनअघि नेपालीको निधन भएको हो ।

उनको जन्म जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ को बेला गाउँमा बुबा रामदुलास साह र आमा इन्द्रमणि देवीबाट २००२ भदौ २९ गते भएको थियो । मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले मैथिलीमा स्नातकोत्तरसम्मको अध्ययन गरेपछि २०१८ मंसिर २६ गतेबाट आफ्नो पत्रकारिता करियरको सुरुवात गरेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर उनले पत्रकारिताको सुरुवात गरेका थिए । नेपालको केही स्थानमा हिन्दी सम्मेलन पनि गराएका थिए । साहित्यमा मैथिली र हिन्दी दूबैमा लेख्थे । उहाँको एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्