आज कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा वर्षाको सम्भावना

असोज ६ काठमाडौं___ आज शनिबार दिउँसो कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

महाशाखाका अनुसार भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकोले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । हावाहुरी र वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिबाट बच्नका लागि सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्