आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने

असोज १८ काठमाण्डौं ___ आज (बिहीबार)देखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने भएको छ । नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहे पनि अन्य क्षेत्रबाट क्रमिक सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएका छन् । आजदेखि भारी वर्षा हुने सम्भावना कम रहेको मौसमविद् गोविन्द झाले बताए । ‘मंगलबार र बुधबारजस्तो लगातार झरी हुन्न, केही समय पानी पर्ने र केही समय घाम पनि लाग्ने हुन्छ, पूर्वमा मात्रै अलिकति बाँकी छ, अब आजदेखि भारी वर्षा भने हुन्न,’ उनले भने ।

विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

यहाँ कमेन्ट गर्नुहोस्