हिन्दूहरूको महान् पर्व बडादशैं आजदेखि शुरू

असोज २८ काठमाडौँ___   हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ । दशमीको दिनलाई विजया दशमीका रूपमा मनाइन्छ ।

यसरी टीका लगाउने क्रम कतै एक दिन मात्र हुन्छ भने कतै पूर्र्णिमासम्म नै लगाइन्छ ।दसैँको पहिलो दिन ‘शैलपुत्री’ नामकी देवीको पूजा गरिन्छ । आआफ्नो क्षेत्रमा रहेका शक्तिपीठहरूमा दर्शन गर्ने र पञ्चबलि दिने परम्परा रहेको छ । विभिन्न कोतमा सरकारका तर्फबाट नै बलीको व्यवस्था गरिँदै आएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्