जेष्ठ २९ जनकपुरधाम__ जसपाका सांसद उपेन्द्र महतोले प्रदेश २ का मन्त्रीहरुलाई अब जनताले लखेट्ने बताएका छन्। उनले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भएकाले त्यसका लागि सरकारले तयारी नगरे जनताले मन्त्रीका झण्डावाल गाडीलाई लखेट्ने बताएका हुन्।
शनिबार प्रदेश २ को प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रमको छलफलमा बोल्दै उनले अबको ६ महिना अथवा ८ महिनामा कोरोनाको तेस्रो लहर आउनसक्ने भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए।
उनले भने, ‘कोरोनाको पहिलो र दोस्रो लहर आयो यसमा युवा र वृद्धको मृत्यु भयो। अब तेस्रो लहर पनि आउने निश्चित छ। अब आउने समयमा बालबालिका बढी प्रभावित हुनेछन्। यसको लागि तपाईं कति संवेदनशिल हुनु हुन्छ?,’ उनले अगाडि भने, ‘अहिलेसम्म त तपाईंहरुलाई सबैले छाडिदियो तर हाम्रो बच्चाको समय आयो भने झण्डावाला गाडीलाई लखेटी लखेटी कुट्ने हो।’
उनले अहिले नै कोरोनाको रोकथामका लागि तयारी गर्न प्रदेश सरकारसँग आग्रह गरे।नेपालभन्दा पहिला नै भारतमा प्रकोप आउने भएकोले त्यसको पूर्वतयारीमा जुट्नु अहिलेको आवश्यकता रहेको उनले बताए।
उनले भने, ‘नेपालमा प्रकोप आउनुभन्दा केहीदिन पहिला नै भारतमा आउँछ। भारतमा अक्सिजनको अभाव भएको समय हामीले किन त्यसको तयारी गरेनौँ? आइसकेपछि मात्र अक्सिजनको खोजी भयो।’