
३० जेठ उदयपुर । कोभिड १९ द्रुत प्रतिकार्य समुह उदयपुरले बाबुको अन्तिम संस्कारपछि काजकिरीयामा बसीरहेकी भगवती थापाको परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ । उदयपुर कटारीकी भगवती थापाले रुढीवादी परम्परालाई चुनौति दिँदै आफ्नो बुबाको शब काँधमा राखेर घाँट पुर्याई आफ्नै हातले दागबत्ती दिएकी थिए । थापको परिवारमा उनकी बहिनी र आमासहित तीन जनाको परिवार रहेका छन् ।
बुवाको मृत्यु पश्चात आर्थिक अवस्था ज्यादै कमजोर रहेको सो परिवारमा परेको अभावलाई सहज बनाउन द्रुत समुह थापाको घरमै पुगेर सहयोग स्वरुप खाद्यान्न बितरण गरिएको कोभिड १९ द्रुत प्रतिकार्य समुह उदयपुरका संयोजक भरत खड्काले बताउनु भयो ।
भगवतीकी एक दाजु भएपनि ५ वर्षअघि रोजगारीको शिलशिलामा भारत गएको तर अहिलेसम्म नफर्किएपछि अत्तोपत्तो नभएको दाजुको ठाउँमा उनले आफ्नो कर्तव्य निभाएकी परिवार श्रोतले बताए । यो कर्तव्य सँगै भगवतीलाई एक बहिनी र बृद्धा आमाको भरणपोषणको दायित्व पनि थपिएको छ । भगवतीलाई अहिले प्रसंसा र हौसलासँगै खाद्यान्न र आर्थिकजन्य सहयोगको पनि उत्तिकै खाँचो रहेको छ ।
त्यस्तै कोभिड १९ द्रुत प्रतिकार्य समुह उदयपुरले कटारी नगरपालिकाको उपमेयर मार्फत उपचारमा रहेका कोरोना बिरामीलाई ३० प्याकेट रोग प्रतिरोधात्क आयुर्वेदिक औषधि पनि वितरण गरेको गैसस महासंघ उदयपुरका अध्यक्ष सुमन परियारले जानकारी दिए ।
बितरण कार्यक्रममा प्रतिकार्य समुहका प्रदेश संयोजक महेश्वरी राई जिल्ला सदस्यहरु सागर नेपाल, आनन्द खड्का, समीर चौलागाई र सन्जिव काफ्लेको पनि उपस्थिति रहेको थियो ।