कानुन व्यवसायीद्वारा जसपाको उपेन्द्र पक्षलाई सिंगो पार्टीको आधिकारिकता दाबी गर्न सुझाव

असाढ़ १ काठमाडौं__ जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षलाई कानुन व्यवसायीहरुले सिंगो पार्टीको आधिकारिकता दाबी गर्न सुझाव दिएका छन्। मंगलबार भएको छलफलका क्रममा कानुन व्यवसायीहरुले बहुमत पक्षले गरेको कारबाही मान्य नहुने निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाँदा पक्रिया लम्बिने बताएका छन्।

निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुरसहित ठाकुर–महतो पक्षका ११ जना नेतालाई गरिएको कारबाहीले मान्यता नपाउने निर्णय गरेपछि जसपाको उपेन्द्र–बाबुराम पक्षले मंगलबार कानुन व्यवसायीसँग छलफल गरेको हो। निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा जाने तयारीका विषयमा नेताहरुले आफू निकट कानुन व्यवासायीसँग छलफल गरेपनि कानुन व्यवसायीहरुले भने अदालत गए पक्रिया लम्बिने भएकाले सिंगो पार्टीको आधिकारिता दाबी गर्न सुझाव दिएको १ नेताले जानकारी दिए।

‘उहाँहरु(कानुन व्यवसायी)ले आयोगको निर्णयविरुद्ध अदालत जाँदा पक्रिया लामो जान्छ, बरु त्यसको सट्टा राजनीतिक दलसम्बन्धी ऐन २०७३को दफा ४३ र ४४ अनुसार बहुमतको आधारमा सिंगो पार्टीको आधिकारिकता दाबी गर्दा छिटो हुन्छ भनेर सुझाव दिनुभयो,’ जसपाको उपेन्द्र–बाबुराम पक्षका एक नेताले भने।

कानुन व्यवसायीको राय सुनेपछि नेताहरुले आपसी छलफल गरेर के गर्ने भन्नेमा छिट्टै टुंगोमा पुग्ने बताएका छन्। ‘अदालत जाने की पुनः निर्वाचन आयोगमा जाने भन्नेबारे शीर्ष नेतृत्वबीच छलफल गरेर निष्कर्षमा पुग्ने भन्ने भएको छ,’ उपेन्द्र–बाबुराम पक्षका ती नेताले भने।

यहाँ कमेन्ट गर्नुहोस्