०४ असार सप्तरी । सामूहिक बलात्कार मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले १४ वर्षपछि पक्राउ गरेका छन् । १३ वर्ष कैद सजाय पाएर फरार भएका तत्कालीन सकरपुरा गाविस वडा नं-७ हाल तिलाठी कोइलाडी गाउँपालिका वडा नं-३ का ओमप्रकाश मुखिया (लफन्दर) लाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई गाउँमै फेला पारी नियन्त्रण्मा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए ।
मुखिया लगायत अन्य तीनजना अभियुक्तलाई गाई चराउन गएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सप्तरी जिल्ला अदालतले २०७५ असार ५ गते १३ वर्ष कैद सजाय फैसला गरेको थियो ।
यो घटना २०६४ साल असोज ९ गते घटेको थियो । त्यसयता मुखिया सहित एक जना फरार रहेका थिए जो अहिले पनि फरार कै सुचिमा रहेको छ । पक्राउ परेका मुखियालाई कैद भुक्तानको लागि अदालतले राजविराज कारागार चलान गरिसकेको छ ।
यो घटनामा अरु तीनजना पनि संलग्न रहेको थियो । उनीहरुलाई पनि १३ वर्ष कैद सजाय फैसला भएको थियो ।