सभापति देउवाको नेतृत्वमा रहेको विपक्षी गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

०४ असार काठमाण्डौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष रहेको छ ।

कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएर संसदमा गएका थिए । पछिल्लो समय गठबन्धनले हरेक विषयमा साझा धारणा बनाउन थालेपछि कांग्रेसका केही नेताहरुले प्रश्न र असन्तुष्टि व्यक्त गरेका थिए ।

तर शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक रुपमै गठबन्धनमा आवद्ध दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने निर्णय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको गठबन्धनलाई निरन्तरता दिने गरी दलहरुबीचको सहकार्यलाई अगाडि बढाउने प्रस्ताव आजको केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिका पनी अनुमोदन गरेको छ । अब साउन १२ गते वडा अधिवेशन हुनेछ भने केन्द्रीय महाधिवेशन भदौ १६देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्