कालो ढुसी संक्रमित विरामीको जटिल शल्यक्रिया : वीपी धरानमा

०७ असार धरान । कालो ढुसी(ब्लाक फंगस) संक्रमित एक ६१ वर्षीय वृद्धको विरामीको जटिल शल्यक्रिया वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सफलतापूर्वक भएको छ ।

काठमाण्डौंका एक वृद्धको प्रतिष्ठानका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शंकरप्रसाद साहको नेतृत्वमा शल्यक्रिया भएको हो । ती वृद्धको प्रतिष्ठानमा दुई साता उपचार पश्चात डिस्चार्ज भएर घर फर्किसकेका छन् । विरामी डिस्चार्ज भइसकेपछि मात्र प्रतिष्ठानले आइतबार कालो ढुसीको शल्यक्रिया भएको जानकारी दिएको हो ।

डा.साहको नेतृत्वमा कालो ढुसी संक्रमित वृद्धको अप्रेशसनमा डा।राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्रप्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा. जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बिककोटोलीले गरेको प्रतिष्ठानले जनाएको छ । यस  शल्यक्रिया पूर्वाञ्चलमा यो नै पहिलो हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार जेठ १३ गते एक वृद्ध अनुहारको देब्रे पाटो सुन्निएर दुःखेको र देब्रे आँखा पनि रातो भएको समस्या लिएर ओपिडीमा उपचारको लागि आएका थिए । उच्च रक्तचाप र सुगरको पनि विरामी ती वृद्धलाई एक सातादेखि यो समस्याले सताएको थियो । उनी वीपी प्रतिष्ठानको ओपिडी आउनु १० दिनअघि मात्र कोभिड १९ संक्रमत भएर काठमाडौंको वीर अस्पतालमा उपचार पश्चात निको भई डिस्चार्ज भएका थिए ।

प्रतिष्ठानमा विरामीको जाँच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडीको भागसम्म कालो भएर पिप जमेको अवस्थामा पाइएको थियो । वृद्धलाई सोही दिन वार्डमा भर्ना गरेको र भोलिपल्ट जेठ १४ गते शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको भागलाई निकालेर ल्याब परीक्षण गर्न पठाइएको थियो । उक्त परीक्षणको रिपोर्टले वृद्धलाई कालो ढुसीको संक्रमण भएको पुष्टि गरेको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।

कालो ढुसी एक प्रकारको घातक संक्रमण हो । समयमा उपचार नपाए विरामीको प्राण पनि जानसक्ने चिकित्सकको भनाई छ ।

कालो ढुसी(ब्लाक फंगस) कोभिडका विरामी निको भएर डिस्चार्ज भइसकेको १० देखि ५० दिनको भित्रमा यो संक्रमण देखिने डा.साह बताउँछन् । उपचारको क्रममा विरामीलाई स्टेरोइड थेपारी दिइएको र अक्सिजनमा राखिएको छ भने यो रोग हुने धेरै सम्भावना रहने डा।साहले जानकारी दिए । ‘कोभिड विरामी डिस्चार्ज भएकोलाई नाकबाट कालो रगत आउने, आँखामा समस्या भयो र अनुहारमा दुखाई भयो भने तत्काल चिकित्सकको सम्पर्कमा जान आग्रह गछौं,’ डा।साहले भने, ‘समयमै उपचार नगरेमा तीव्ररुपमा फैलने र आँखा नदेख्ने, बिस्तारै ब्रेनमा गएर विरामीको ज्यान जाने जोखिम पनि हुन्छ ।’

यहाँ कमेन्ट गर्नुहोस्