आज विश्व योग दिवस : रोग प्रतिरोधी क्षमता बढाउँन योग उत्तम !

०७ असार काठमाण्डौं । आज जुन २१ अर्थात विश्व योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाईंने गरिएको छ तर, यसवर्ष भने कोरोनाका कारण दिवस प्रभावित बनेको छ ।

विगत वर्षमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व योग दिवस मनाइने गरेपनि यसवर्ष औपचारिक कार्यक्रम प्रभावित भएका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण यो वर्ष भर्चुअल छलफल र सामाजिक दुरी कायम गरी यो दिवस मनाइँदैछ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यममार्फत कार्यक्रम गर्न लागिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले योग दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षता मुख्य समारोह समिति गठन गरेको छ ।

गएको जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले यो दिवस मनाउनका लागि जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा समिति रहने र समितिका अरु सदस्यहरु प्रमुख जिल्ला अधिकारीले नै तोक्ने व्यवस्था गरेको छ ।

भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो । राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

बदलिँदो जीवनशैलीका कारण उत्पन्न हुने विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनाव समाधान गर्न योगलाई प्रभावकारी मानिएको छ । पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउँछन् ।

आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् ।

गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए ।

कोरोना सङ्क्रमणले निम्त्याएको परिस्थितिका कारण स्वास्थ्यका मापदण्ड अपनाएर दिवस मनाउन सरकारले आग्रह गरेको छ ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्