हत्याको अभियोगमा सप्तरीबाट दुई जना पक्राउ

०७ असार सप्तरी। सप्तरीमा एक बालिकाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेल बस्ने रामउदगार यादवकी नौ वर्षीया छोरी शिवानीकुमारीको गोठाला गएको बेलामा हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादव र राजु यादवलाई सोमबार पक्राउ गरेको हो ।

हँसियाले घाँटी रेटेर हत्या गरिएको अवस्थामा गत शुक्रबार शिवानीको शव हटेल पुवरिया टोलस्थित फूलबारीमा फेला परेको थियो ।

यौन दुर्व्यवहारपछि हत्या गरेको आरोपमा रोहितलाई पक्राउ गरेपछि थप अनुसन्धानका लागि सोमबार राजुलाई समेत सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बालिकाको शवको परीक्षण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार गरिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्