असाढ़ ८ काठमाण्डौं __ कोरोना महामारीको जोखिम कायमै रहेपनि काठमाडौं उपत्यकाको जनजीवनलाई विस्तारै सामान्य अवस्थामा फर्काउनका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको हो ।
पसल व्यवसायदेखि विभिन्न क्षेत्र मापदण्ड तोकेर खोल्नेदेखि निजी सवारी साधन र ट्याक्सी जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने स्थानीय प्रशासनको निर्णयसँगै मंगलबार काठमाडौं उपत्यकामा सवारीको चाप अघिल्लो दिनहरुको तुलनामा ह्वात्तै बढेको छ ।
आजदेखि उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली
प्रशासनको निर्णय अनुसार जोर गते जोर नम्बर प्लेटका निजी तथा ट्याक्सी सञ्चालन गर्न पाइन्छ भने बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलेका हुन् ।
जोर बिजोर लागू भएसँगै प्रहरीले नियम पालना भए–नभएकोबारे कडाइ गर्दै चेकजाँचलाई तीव्र पारेको छ । आजदेखि असार १४ गते राति १२ बजेसम्म यो आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।