जेष्ठ ४ भारत ___भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्।
अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा कुदिरहेको बिबिसीले जनाएको छ। भारतीय मौसम विभागले सोमवार गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो।
तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो। सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो।
गुजरात एवम् छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन्।यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले शनिवार साँझ बताएको थियो।
उसले उद्धारका दुईवटा बेग्लाबेग्लै अनुरोधहरूको सुनुवाइ गर्दैछ। एउटा तटभन्दा १७० किलोमिटर पर तेल क्षेत्रमा रहेको बार्जबाट र अर्को तटभन्दा १४ किलोमिटर पर रहेको पानीजहाजबाट उद्धार गरिनुपर्ने बताइएको छ।यसैबीच करिब दुई लाख मानिसलाई तल्ला तटीय क्षेत्रबाट सारेर आश्रयस्थलमा पुर्याइएको छ।