प्रधानमन्त्री ओलीद्वारा दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

असाढ़ १४ काठमाडौं__ प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्। मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गरेका हुन्।

कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही एक लाख रुपैयाँको सो पुरस्कार प्रदान गरिएको हो।

कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएको फाउण्डेशनले जनाएको छ। यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरिएको छ।

पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल(द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) छन्। उनीहरुलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँको पुरस्कार दिइएको छ। रासस

यहाँ कमेन्ट गर्नुहोस्