असोज दोस्रो साता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

अन्य पार्टीबाट आएका नेताहरुको समायोजनबारे टुंगो लगाइने

२७ भाद्र २०७७, शनिबार
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण कार्यतालिका बमोजिम कार्यसम्पादन हुन नसकेकापछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको तयारी गरेको छ ।

पार्टीको आशन्न १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने निश्चितप्रायः देखिएपछि आवश्यक परामर्श गरेर कार्यतालिका परिमार्जनबारे निर्णय गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको तयारी गरेका हुन् ।

महामारीका कारण परिमार्जित कार्यतालिकाअनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न असहजता उत्पन्न भएपछि कांग्रेसकै नेताहरु पूर्वनिर्धारित मितिमा महाधिवेशन नहुने निष्कर्षमा पुगिसकेका छन् ।

“निर्धारित मितिमा महाधिवेशन सम्भव होला जस्तो छैन । नेताहरुबाटै महाधिवेशनको कार्यतालिका परिमार्जनको माग उठेपछि सभापतिले केन्द्रीय समिति बैठक बोलाएर छलफल गर्ने मनस्थिति बनाउनुभएको छ,” सभापति देउवाका निकट एक केन्द्रीय सदस्यले अमुर्तसँग भने, “असोजको दोस्रो साता तिर केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना छ ।”

केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको बारेमा छलफल गरेर कार्यतालिका परिमार्जनका साथै अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गरेका नेताहरुको समायोजन टुंग्याउने ती नेताको भनाइ छ ।

गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशिल सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नु पर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ ।

यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।

विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नविकरणको काम सम्पन्न गर्न सकेको छैन ।

कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा गत बुधबार आयोजित ‘भर्चुअल’ विचार गोष्ठीमा सभापति शेरबहादुर देउवा आगामी फागुन ७ गते महाधिवेशन आयोजना गर्न सकिने सहज वातावरण नभएको आशय व्यक्त गरेका थिए ।

उनले कोभिड–१९ महामारीका कारण महाधिवेशन पछाडि धकेलिने अवस्था आएकोसमेत स्वीकार गर्दै तोकिएको मितिमा महाधिवेशन हुन नसके सबैको सल्लाहमा नयाँ मिति तोकिने पनि बताएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्