आवश्यक परे संविधान अनुरुप विशेषाधिकार प्रयोग गर्न पूर्वसभामुखहरुको सभामुखलाई  सुझाव

११ जेठ काठमाडौं । पूर्वसभामुखहरुले आवश्यक पर्दा संविधान अनुरुप  विशेषाधिकार प्रयोग गर्न सभामुख अग्नि प्रसाद सापकोटालाई सुझाव दिएका छन्।

सभामुख सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्व सभामुखहरुसँग गरेको परामर्श क्रममा पूर्वसभामुखहरुले आवश्यक पर्दा संविधान अनुरुप विशेषाधिकार प्रयोग गर्न सुझाव दिइएको पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन्।

उनले राजनीतिक दलहरुको बीचमा दूरी कम गराउने, विज्ञ, सरोकारवालाहरु लगायत संस्थागत र व्यक्तिगत रुपमा परामर्श गरि अनुकुल बातावरण बनाउन पनि आग्रह गरेको बताइन् ।

जनताको प्रतिनिधिमुलक संस्थामाथि आक्रमण गर्नु पूर्णतया असंवैधानिक भएको पूर्वसभामुख घर्तीले बताइन् ।

‘पूर्वसभामुखहरुले सबैले एउटै स्वरमा प्रतिनिधिसभा भनेको जनताको असली प्रतिनिधित्व गर्ने संस्था हो । प्रत्यक्ष रुपमा जनताले भोट गरेर पठाएकोले प्रतिनिधिसभा जनताको प्रतिनिधित्व गर्ने संस्था हो र यो संस्थामाथि आक्रमण भयो। यो पूर्णतया असंबैधानिक छ भनेर पूर्वसभामुखहरुले दिएको सुझावबारे उनले भनिन्।’

संविधानको धारा ७६ को उपधारा ३ अनुसार बनेको सरकारलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको हुनाले संसद भंग गर्ने सरकारको निर्णय असंवैधानिक हुनुको साथै यसले जनताको मतलाई अपमान गर्ने काम गरेको भन्दै सोको घोर निन्दा गर्नुपर्छ भन्ने धारणा पूर्वसभामुखहरुले राखेको पनि उनले जानकारी दिइन् । छलफलमा न्यायलयले छिटो भन्दा छिटो फैसला गर्नुपर्ने र देश र राज्यको आवश्यकता अनुसार सम्पूर्ण संवैधानिक निकाय चल्नु जरुरी रहेको उनले बताइन्।

प्रतिनिधिसभा भनेको प्रत्यक्ष रुपमा जनताले भोट गरेर पठाएकाहरुको सभा भएकाले जनताको असली प्रतिनिधिमुलक संस्थामाथि आक्रमण गरेर जनताको मतको अपमान गर्ने काम सरकारले गरेको भन्दै त्यस कार्यको निन्दा गरेको पूर्वसभामुख घर्तीले जानकारी दिइन् ।

यहाँ कमेन्ट गर्नुहोस्