देउवालाई किन समर्थन गरेको भन्दै उपेन्द्र यादवलाई सोधे महन्थ ठाकुरले स्पष्टीकरण

१२ जेठ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ । पार्टीमा निर्णय नगरी कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको विषयमा ठाकुरले यादवलाई प्रश्न गरेका छन् । यस्तै ८ र ९ गतेको कार्यकारिणी बैठक आफूले स्थगित गर्दा एकल अध्यक्षता गर्दै किन राखिएको भन्दै स्पष्टीकरण सोधेका छन् ।

ठाकुरले सोधेको स्पष्टीकरणमा यादवले पार्टी हित विपरित निर्णय लिएको आरोप लगाइएको छ । सर्वोच्च अदालतमा पार्टी निर्णय विपरित रिट दर्ता गरेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो जानकारी विपरित पार्टीको बैठक राखि लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गरेको विषयमा पनि ठाकुरले स्पष्टीकरण मागेका छन् ।

पार्टी एकता भएदेखि नै जिल्लामा गुटगत बैठक, भेला राखेको तर समायोजनमा रूचि नदेखाएको ठाकुरको आरोप छ ।ठाकुरले यादवलाई ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनेका छन् । यता उपेन्द्र यादव,डा. बाबुराम भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चार नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ ।

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको र प्रतिगमनलाई साथ दिएको भन्दै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई कारबाही सुरु गरेको हो । उपेन्द्र पक्षले पनि कारबाहीको पहिलो चरणमा चारै जना नेतालाई स्पष्टीकरण सोधेको हो ।

यहाँ कमेन्ट गर्नुहोस्