यास चक्रवातको प्रभाव : आजबाट अझ वर्षा-हिमपात बढ्ने सम्भावना

१२ जेठ काठमाडौं । हाल नेपालको मौसममा बंगालको खाडीमा बनेको यास नामको चक्रवातको आंशिक प्रभाव रहेको छ। जसले गर्दा मंगलबार बिहानदेखि नै देशका विभिन्न स्थानमा वर्षा जारी छ ।

उता भारतमा आज यास चक्रवात बज्रिन आइपुग्ने अनुमानले बंगाल र ओडिसाका लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चक्रवातको आंशिक प्रभाव मात्रै नेपालमा परेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (बुधबार बिहान) बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

आजदेखि वर्षा/हिमपात अझ बढ्दै जाने र कम्तीमा शुक्रबारसम्म जारी रहने देखिएको महाशाखाले जनाएको छ। यस अवधिभर सतर्कता अपनाउन, पर्वतारोहणमा नजान भनेर मौसमविद्ले यसअघि नै पटकपटक विशेष मौसम बुलेटिन जारी गरेर सचेत गराइसकेका छन्।

महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यस्तो छ :

जेठ १२ गते बुधबार (आज)
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

राति : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।गण्डकी, बागमती र प्रदेश १ का हिमाली, उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना छ ।

यहाँ कमेन्ट गर्नुहोस्