देशमा कोरोना महामारीको संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाको समय लम्बिँदै

जेष्ठ १३ काठमाण्डौ__कोरोना महामारीको संक्रमण कम गर्न जारी गरिएको निषेधाज्ञाको समय लम्बिँदै गएको छ । यसको अर्थ महामारी संक्रमण र त्यसबाट हुने मृत्युुदरमा कमी आउन सकिरहेको छैन । निषेधाज्ञाको उद्देश्य महामारी संक्रमण विस्तारलाई रोक्नु र मृत्युदर कमी ल्याउनु हो ।

यसमा सरकार, सरकार मातहतका निकाय, निजी स्वास्थ्य संघसंस्था तथा जनस्वास्थ्यसँग सम्बन्धित सबै निकाय तथा व्यक्तिको क्रियाशील भूमिकाको अपेक्षा गरिएको छ र थियो पनि । तर, सबै निकायबाट अपेक्षित भूमिका निर्वाह हुन नसक्दान कोरेना संक्रमण विस्तार र संक्रमित बिरामीको मृत्युदरमा कमी नआएर बरु बढ्न पुग्यो ।

यसै कारणले पनि छोटो समयका लागि भनी जारी गरिएको निषेधाज्ञा लम्बिन पुग्यो । निषेधाज्ञा लम्बिन पुगे पनि संक्रमण विस्तार, रोकथाम र मृत्युदरमा कमी आउन भने सकेन । त्यो सबैका लागि दुःखद कुरो मात्र नभई आत्मसमीक्षा र मूल्यांकनको कुरो हो । यस किसिमको आत्मसमीक्षा र मूल्यांकनमा सरकारलगायत विभिन्न संघसंस्था र आमजनसमुदायसमेत छट्नुहुँदैन । यसले ग-यो उसले गरेन भन्ने कुरो नभई यो सबैको उत्तिकै जिम्मेवारीको कुरो हो ।

निषेधाज्ञाको समय लम्बिँदा सबैलाई सकस हुन गएको छ । र, सबैलाई अप्ठ्यारो पनि महसुस हुन थालेको छ । तर, नेपाली जनमानसको प्रवृत्तिमा बदलाव आएन । चोकहरूमा, पसलमा र चौबाटो तथा चौपारीमा भिडभाड गर्ने प्रक्रिया रोकिएन । समय काट्न गाह्रो भयो भनेर कोठामा जम्मा भएर तास खेल्ने, मदिरा सेवन गर्ने र फिल्म हेर्ने जमघटमा कमी आएन ।

यसले बाहिर मानिसको रोकथाम भएजस्तो तर टोलटोलमा नदेखिने गरी भिडभाड चलिरहेको अवस्था देखियो । कोारेना संक्रमणको दोस्रो लहर व्यापक बन्दै जाँदा राजनीतिक पार्टीहरूले भेला, सम्मेलन, जमघट र भाषण जारी राखे । यसले पनि महामारी संक्रमणको फैलावटलाई बल दिन पुग्यो । मानिसले कतिपय स्थानमा कोरोना संक्रमणको दोस्रो लहर बढी घातक र ज्यान लिने खालको छ भन्ने बुझ्न सकेनन् ।

लापर्बाही, देखासीखी, मनोगत आत्मविश्वास, राजनीतिक पूर्वाग्रह तथा आफूले पनि केही जान्ने मानसिकताले गर्दा संक्रमण रोकथामले सामूहिक प्रयास स्वरूप ग्रहण गर्न सकेन । फलतहः महामारी संक्रमण कुनै व्यक्ति विशेष, दल विषेश, स्वास्थ्य निकाय विशेष वा व्यापारको जस्तो विषय बन्न पुग्यो । यो सर्वाधिक दुःखद कुरा हो ।

त्यसैले सरकारले कोरोना संक्रमण विस्तार र संक्रमित बिरामीको मृत्युदर रोक्न चालेको प्रशासनिक पहल निषधाज्ञा लम्बिन पुगेको हो । निषेधाज्ञा लम्बिनुमा सरकार मात्र दोषी छैन । आमजनता पनि उत्तिकै जिम्मेवार छन् । जनताले पनि कोरोना महामारी संक्रमणको रोकथाम र संक्रमणलाई कम गर्न दिइएका आधारभूत निर्देशन मनन गरेको देखिँदैन । सामाजिक दूरी कायम राखेको पनि देखिँदैन ।

डेरा भाडामा बसेकाहरू एकअर्को कोठामा बिनामास्क आवतजावत गर्ने, पसलेहरूले मास्क नलगाउन लक्षण देखिएपछि पीसीआर परीक्षण गर्नुपर्नेमा लापर्बाही गरिदिने, बिरामीहरू सेल्फ आइसोलेसनमा बस्न नचाहने, डाक्टर तथा नर्सहरूले आफ्नो जिम्मेवारी पूरा गर्दा बिरामीको स्वास्थ्य स्थितिप्रति कम चिन्तित हुने आदि काराणले संक्रमण र संक्रमितको मृत्युदरमा बढोत्तरी हुन जाँदा निषेधाज्ञा एक बाध्यकारी कदम हुन पुग्यो । जो अहिले पनि जारी छ ।

यहाँ कमेन्ट गर्नुहोस्