लगातार हिमपातका कारण सगरमाथा आरोही अलपत्र

१३ जेठ काठमाडौं   लगातार भारी हिमपातका कारण सगरमाथा आरोहणमा गएकाहरू प्रभावित भएका छन् । बंगालको खाडी बनेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि वर्षा र हिमपात जारी छ ।

निरन्तर भारी हिमपातका कारण सगरमाथाको चौथौ शिविरसम्म पुगिसकेका आरोही पनि फर्किन बाध्य भएको सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिए । उनका अनुसार आरोहण सकेका आरोहीले पनि दोस्रो शिविरमा रहेका आफ्ना सरसामान आधार शिविरमा झार्न सकिरहेका छैनन् ।

यस्तै आरोहण सकेर आधार शिविर फर्किने क्रममा केही आरोही घाइते भएर हिँड्न नसक्ने अवस्थामा रहेको उनले बताए। उनीहरूले हेलिकोप्टरबाट उद्धार माग गरिरहेका भए पनि लुक्लादेखि आधार शिविरसम्मै मौसम प्रतिकूल रहेका कारण सम्भव नभएको गौतमले बताए ।

केही शेर्पा माथिका टेन्ट उठाउन राति उकालो लागे तापनि पहिलो शिविर माथि भारी हिमपातका कारण त्यहीं रोकिएका छन् । सबैलाई मौसम नसुध्रिएसम्म यथास्थानमा रहन भनिएको उनले जानकारी दिए।

यासको प्रभावले सगरमाथा क्षेत्रमा भएको हिमपात

यहाँ कमेन्ट गर्नुहोस्