निषेधाज्ञाको अवधि बढाउनु बाहेकको विकल्प छैन् : प्रजिअ सेढाई

१४ जेठ उदयपुर । उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले संक्रमण फैलनबाट रोक्न तत्कालको लागि निषेधाज्ञा लम्ब्याउनु बाहेकको विकल्प नरहेको बताएका छन् । डीसीसीएमसीका प्रमुख समेत रहेका सेढाईले जिल्लामा जारी निषेधाज्ञाले संक्रमण फैलनबाट रोकिएकाले त्यसको निरन्तरता आवश्यक रहेको बताएका छन् ।

प्रजिअ सेढाईले उदयपुरमा बेलैमा निषेधाज्ञा जारी गरिएको र आवश्यक्ता अनुसार कडाई गर्दै लगिएकाले संक्रमण तिव्र गतिमा फैलनबाट रोकिएको बताएका छन् । सेढाईले संक्रमण फैलन बाट रोक्ने उपयुक्त उपाय मूभमेन्ट शून्य बनाउनु नै भएकाले जिल्लामा अझै केहि समय पूर्ण निषेधाज्ञा जारी रहने बताए । उनले त्यस सम्वन्धमा डीसीसीएमसीले निर्णय लिने जानकारी दिए । प्रजिअ सेढाईले अब थप हुने निषेधाज्ञा कोरोना कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा जारी अध्यादेशको प्रावधान बमोजिम हुने बताएका छन् ।

के छ त अध्यादेशमा  :
जारी अध्यादेशले निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए एक वर्ष र उल्लंघन गरे मात्र पनि ६ महिना कैद हुने व्यवस्था गरेको छ । आदेश नमान्ने व्यक्तिलाई सिडिओले सिधै एक लाख र संस्थालाई पाँच लाख जरिवाना गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ । त्यसका साथै प्रहरीले मास्क नलगाउने, अटेर गरी हिंड्नेको हकमा पटकै पिच्छे जरिवाना लगाउन सक्ने प्रावधान अध्यादेशमा उल्लेख छ ।

उदयपुर का प्रहरी प्रमुख भिम बहादुर दाहाल ले निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयनमा लागिपरेको बताएका हुन् । उनले निषेधाज्ञामा सर्वसाधारणको हिंडडुलमा कमी आएपनि अटेर गरी हिड्ने र बन्द गर्न भनिएका बजार पसलमा लुकिछिपी व्यापार गर्ने क्रम भने जारी रहेको बताए । त्यस्ताको हकमा प्रहरीले निगरानी बढाएको उनले जानकारी दिए ।

यता स्वास्थ्य कार्यालय उदयपुरले महामारीको समय भएकाले स्वास्थ्य सावधानी अपनाइ घरमै बस्नु उपयुक्त हुने भनेको छ । संक्रमण रोक्न जारी निषेधाज्ञाले निकै हद सम्म चेन ब्रेकमा सघाउ पुगेकाले त्यसको निरन्तरताको खाँचो रहेको स्वास्थ्य प्रमुख मोहन सुवेदीले बताएका छन् । सुवेदीले जिल्लामा क्रमशः निको हुनेको संख्या बढ्दै गएको जानकारी दिए ।

उदयपुरमा पछिल्लो पटक जारी निषेधाज्ञाको अवधि भने जेठ १४ गते आज मध्यराती सकिदै छ । र यो अवधिलाई थप गरेर जेठ २१ गते सम्मको लागी निषेधाज्ञा जारी गरिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्