जेष्ठ १४ वीरगंज__पर्सा जिल्लामा जनता आवास कार्यक्रम अन्तर्गत ४ सय घर निर्माणको लागि ४ हजार मानिसको निवेदन दर्ता भएको कार्यक्रमका संयोजक प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले बताए। प्रदेश सरकार मातहत जनता आवास कार्यक्रम सञ्चालन भएपछि दोस्रो चरणमा ४ सयजना गरीब, अतिविपन्नहरूको घर निर्माण गर्ने सूचना जारी भएपछि जिल्लाभरिका ४ हजारजनाले आवेदन भरेको उनले बताए।
आवेदनमा छानबीन गरी आजभोलिमा ४ सयजनाको नामावली सार्वजनिक गर्ने र तत्काल घर निर्माण कार्य शुरू गर्ने उनले जानकारी गराएका छन्।यसअघि, पहिलो चरणमा डेढ महीनाअगाडि २ सय घर जिल्लामा निर्माण भएको र ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए। पर्सा जिल्लाका ८ वटा प्रदेश निर्वाचन क्षेत्रमा २५ वटा घरका दरले निर्माण कार्य भइरहेको उनले बताए।
प्रतिघर साढे ३ लाख मूल्यमा उपभोक्ता समितिमार्फत निर्माण कार्य भइरहेको संयोजक कुर्मीले जानकारी गराए।जति ठाउँमा घर निर्माण भइरहेका छन्, सोही ठाउँका व्यक्तिको संलग्नतामा उपभोक्ता समिति बनाएर निर्माण कार्य भइरहेको उनले बताए। पहिलो चरणका २ सय घरमा टिन छाउन र प्लास्टर गर्न बाँकी छ। प्रतिघर दुईवटा कोठा, बरन्डा र शौचालय निर्माण भइरहेको उनले जानकारी गराए