लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा : अध्यक्ष यादव

मंसिर २१ काठमाडौं___जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफूहरु सजग रहेको बताएका छन्।जसपा महोत्तरीले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनआन्दोलन र मधेस आन्दोलनको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेकाप्रति सबै सजग रहनुपर्नेमा जोड दिए।

संघीयता र गणतन्त्र समाप्त पार्ने प्रयासलाई आफूहरुले एकपटक असफल तुल्याइसकेको भए पनि खतरा अझै कायम रहेको उनको भनाइ थियो। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको जिम्मेवारी मधेसी जनताको काँधमा आएको अध्यक्ष यादवले बताए। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले ल्याएको आरक्षणसम्बन्धी व्यवस्था विश्वकै उत्कृष्ट भएको दाबी गरे।

आरक्षणको सुविधा प्राप्त गर्न दलित, महिला, मुस्लिमलगायत समुदायले बालबालिकाको शिक्षामा जोड दिनुपर्ने उनले बताए। मुलुकमा प्रजतान्त्र स्थापनापछि पटक पटक सरकारमा गएको राजनीतिक दलहरुले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले मधेस आन्दोलनको भावना र उत्पीडित वर्गको सम्मानका लागि एकपछि अर्को लोकप्रिय कार्यक्रम ल्याएको स्पष्ट पारे।

यहाँ कमेन्ट गर्नुहोस्