नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दियो

मंसिर २३ काठमाण्डौं ___ नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ । अर्थ विभागको प्रमुखमा वर्षमा पुन र उपप्रमुखमा विन्दामान विष्टलाई जिम्मेवारी दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति विभागको प्रमुखमा वामदेव क्षेत्री, उपप्रमुखमा कृष्ण आचार्य, उपभोक्ता हित आपूर्ति विभागको प्रमुखमा मातृका यादवलाई जिम्मवारी दिएको छ । उक्त विभागको उपप्रमुखको जिम्मेवारी तोक्न बाँकी रहेको छ । कृषि तथा भूमि सुधार विभागको प्रमुखमा हरिबोल गजुरेल, उपप्रमुखमा पूर्णकुमारी सुवेदी, कोष तथा आर्थिका विभागको प्रमुखमा डोरप्रसाद उपाध्याय र उपप्रमुखमा विमला खतिवडालाई जिम्मेवारी दिइएको छ ।

जलस्रोत तथा सिँचाइ विभागको प्रमुखमा लीलामणि पोखरेललाई जिम्मेवारी दिए पनि उपप्रमुखको जिम्मेवारी तोक्न बाँकी रहेको छ । कानुन न्याय तथा मानवअधिकार विभागको प्रमुख मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागको प्रमुखमा झक्कु सुवेदी, प्रचार तथा प्रकाशन विभागको प्रमुखमा कृष्णबहादुर महरा, उपप्रमुखमा महेश्वर दाहाललाई दिइएको छ । प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ र उपप्रमुख हरिनारायण चौधरीले पाएका छन् ।

– पार्टी स्कुल विभागको प्रमुख प्रचण्ड
– महरालाई दुई विभागको जिम्मेवारी

पार्टी स्कुल विभागको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैंले राख्दै उक्त विभागको उपप्रमुखमा गिरिराजमणि पोखरेल चयन गरिएको छ । पुस्तकालय तथा अभिलेख विभागको नेतृत्व नारायण शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुखमा हरि अधिकारीलाई जिम्मेवारी दिइएको छ । गणेशमान पुन प्रमुख र किरण राई उपप्रमुख रहेको युवा तथा खेलकुद विभाग बनाएको माओवादीले राजकीय तथा सुशासन विभागको प्रमुख र उपप्रमुखको जिम्मेवारी क्रमशः रेखा शर्मा र नरेश भण्डारीलाई दिएको छ । राष्ट्रिय सुरक्षा विभागको प्रमुखमा कृष्णबहादुर महरा र उपप्रमुखमा सन्तकुमार दरैलाई दिइएको छ ।

त्यसै गरी, शक्तिबहादुर बस्नेतले वन तथा वातावरण विभागको प्रमुख र सुनीलकुमार मानन्धरलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ । विज्ञान तथा प्रविधि विभागको प्रमुखमा गणेश शाहले जिम्मेवारी पाउनुभएको छ । विदेश विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा सुरेन्द्रकुमार कार्कीले जिम्मेवारी पाउँदा शिक्षा तथा मानव स्रोत विभागको प्रमुखमा मायाप्रसाद शर्मा र उपप्रमुखमा जीवन गौतमलाई जिम्मेवारी दिइएको छ । श्रम तथा रोजगार विभागको प्रमुखमा रामेश्वर राय यादव र संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्मालाई दिइएको छ ।

संघीय संसदीय विभागको प्रमुख अध्यक्ष प्रचण्ड आफैं रहनुभएको छ भने उपप्रमुखमा कृष्णबहादुर महरा रहनुभएको छ । सत्या पहाडीलाई समाज कल्याण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा धर्मदत्त देवकोटाले जिम्मेवारी पाउनुभएको छ । शहरी विकास प्रमुखमा देवेन्द्र पौडेल र उपप्रमुखमा डा. कलबहादुर रोकायालाई जिम्मेवारी दिइएको छ ।

टेकबहादुर बस्नेत सामान्य प्रशासन विभाग प्रमुख र उपप्रमुखमा भरत लामिछानेलाई जिम्मेवारी पाउनुभएको छ । गोपाल ठाकुरलाई साहित्य कला संस्कृति विभागको प्रमुख र उपप्रमुखमा सरल सहयात्रीले जिम्मेवारी पाउनुभएको छ । त्यसै गरी, स्थानीय तह विभाग प्रमुखको जिम्मेवारी उर्मिला अर्याललाई र उपप्रमुखको जिम्मेवारी प्रकाश विकल्पलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा कल्पना धमला र सूर्यप्रसाद सुवेदीको नेतृत्वमा विपद् व्यवस्थापन विभाग गठन गरिएको छ । नीति अनुसन्धान प्रतिष्ठानको प्रमुख र उपप्रमुख भने खाली राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्