प्रधानमन्त्री देउवा कार्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा

जेष्ठ १८ काठमाडौँ ___ स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् । संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो ।

सांसदहरूले फागुन २० मा मात्र शपथ लिएकाले प्रतिनिधिसभाको कार्यकाल मंसिरमा सकिन्छ कि फागुनमा भन्नेमा कांग्रेसकै नेताहरू एकमत छैनन् । कतिपय नेताहरू फागुनमा मात्र चुनाव गराउनुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भने यथासक्य छिटो गर्ने पक्षमा छन् । स्थानीय तह चुनावमा टिकट वितरणमा अन्याय भएको भन्दै स्थानीय नेताहरू आक्रोशित भएकाले तत्कालै चुनावमा गए अन्तर्घात हुने भन्दै कांग्रेस नेताहरू सजग छन् । ‘कुलिङ पिरियड’ राखेर फागुनमा चुनावमा जानु उपयुक्त हुने उनीहरूको सुझाव छ । कांग्रेस नेता पौडेलले पार्टीभित्रका केही नेताहरू फागुनमा मात्र चुनाव गराउन इच्छुक भए पनि औपचारिक बैठकमा कसैले त्यस्तो प्रस्ताव नराखेको बताए ।

‘गठबन्धन कात्तिक वा मंसिरमै चुनाव गराउन तयार छ, तर यसमा प्रधानमन्त्रीकै भूमिका प्रमुख हुन्छ,’ सोमबार बालुवाटारमा बसेको बैठकको प्रसंग उल्लेख गर्दै नेता पौडेलले भने । वर्तमान गठबन्धन भत्काउने र फेरि वाम गठबन्धन बनाउने विषयमा भित्रभित्रै छलफल सुरु भएको सूचना पाएकाले प्रधानमन्त्री देउवा छिटो चुनावको पक्षमा देखिएको कांग्रेसकै नेताहरूको भनाइ छ । ‘गठबन्धन भत्काउन पनि छलफल भइरहेको सूचना छ । एमाले र माओवादीकै कतिपय नेताहरू वाम गठबन्धन बनाउन लागेका छन् । कम्तीमा एमाले र नेकपा (एस) मिलाउने प्रयास भइरहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘त्यसैले प्रधानमन्त्री चाडपर्वलगत्तै चुनाव गराउने पक्षमा हुनुहुन्छ ।’

कात्तिक/मंसिरमा चुनाव गराउने कि फागुनमा भन्ने साँचो प्रधानमन्त्रीभन्दा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको हातमा रहेको बताउँछन् कांग्रेस नेता मीनेन्द्र रिजाल । ‘चुनावको मिति तोक्ने मात्रै होइन, गठबन्धनलाई कता लैजाने भनेर निर्णय गर्ने भूमिका अहिले दाहालसँग छ,’ उनले थपे । माओवादी नेता नारायणकाजी श्रेष्ठले संघीय चुनावको मितिबारे साझेदारबीच अनौपचारिक छलफल भएको बताए । ‘स्थानीय तहको चुनावको समीक्षा गर्दै जाँदा अबको चुनाव पनि पाँच दल मिलेर जानुपर्छ । चार महिनाअघि नै मिति घोषणा गर्नुपर्छ भन्ने सन्दर्भमा छलफल भएको हो । कात्तिक अन्तिम वा मंसिर पहिलो–दोस्रो साता चुनाव गरौं भन्ने कुरा भएको छ । ठ्याक्कै मितिको विषयमा अब केही दिनमा छलफल हुन्छ,’ श्रेष्ठले भने ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले चुनावको मितिबारे प्रारम्भिक छलफल भएको बताए । ‘संसद्को कार्यकाल सकिएको मितिमा नै चुनाव गर्ने हो भने कात्तिक अन्तिमतिर गर्नुपर्‍यो । मंसिर उता जाँदा हिमाली भेगतिर गाह्रो हुन्छ भन्ने कुरा भएको छ । यद्यपि यो प्रारम्भिक छलफल हो,’ खनालले भने । स्थानीय तह चुनाव परिणामबाट असन्तुष्ट एकीकृत समाजवादी र जनता समाजवादी पार्टी भने अहिले संसदीय चुनावको मिति तोक्ने विषयमा त्यति उत्साहित छैनन् । सोमबार बालुवाटारमा बसेको बैठकमा पनि दुवै दलका नेताले असन्तुष्टि पोखेका थिए । एसका नेताहरूले खासगरी इटहरी र बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवारले ठूलो मतान्तरले जित्दा पनि उपप्रमुखमा आफ्ना उम्मेदवारले हारेको विषय उठाएका थिए ।

त्यसैगरी जसपाले जनकपुर उपमहानगरमा प्रमुख आफ्ना उम्मेदवारको सट्टा कांग्रेसले विद्रोही उम्मेदवार जिताएको र विराटनगरको उपप्रमुखमा आफ्ना उम्मेदवारलाई हराएको प्रसंग उठाएका थिए । त्यस्तै बैठकमा सहभागी माओवादी नेता श्रेष्ठले पनि मुलुकलाई भूराजनीतिक जटिलतामा धकेल्ने काममा सरकार उद्यत रहेको भन्दै गठबन्धनलाई निरन्तरता दिने कि नदिने भन्ने प्रश्न उब्जेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘दुई छिमकी चीन, भारत र शक्ति राष्ट्र अमेरिकासँग सन्तुलित परराष्ट्र नीति कायम राख्न सरकार असफल भएको छ ।

सरकार नै अमेरिका र भारततिर ढल्किँदा नेपाल भूराजनीतिक जटिलतामा फस्ने डर बढेकाले गठबन्धनलाई नीतिगत रूपमै निरन्तरता दिन अप्ठ्यारो पर्न सक्छ,’ स्रोतका अनुसार बैठकमा श्रेष्ठको भनाइ थियो । प्रधानमन्त्री देउवा भने सहयोगी तीन दलका नेताहरूलाई आश्वस्त पार्ने प्रयासमा थिए । ‘परराष्ट्र नीतिको समीक्षा गर्न परराष्ट्रमन्त्रीलाई समेत सहभागी गराएर छुट्टै बैठक राख्छु, त्यस्तै गठबन्धनका उम्मेदवारविरुद्ध गतिविधि गर्ने कांग्रेस कार्यकर्तालाई कारबाही गरिएको र अहिले देखिएका कमजोरी हटाएर संघ र प्रदेशको चुनावमा जाने भनेर प्रधानमन्त्रीले आश्वस्त पार्ने कोसिस गर्नुभयो,’ गठबन्धनमा सहभागी एक नेताले भने ।

कांग्रेस नेता पौडेलले पनि सत्ता घटक दलहरूको अविश्वास र आशंका मेटाउने काम प्रधानमन्त्रीबाट भएको भन्दै यही गठबन्धनले आगामी संघ र प्रदेशसम्मै निरन्तरता पाउने विश्वास प्रकट गरे । ‘लोकतान्त्रिक प्रक्रियामा हामी सबै जोडिएका छौं । त्यसैले अब कांग्रेस र कम्युनिस्ट भनेर विभेदको चर्को राजनीति गर्नु व्यर्थ छ । राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी एकै ठाउँमा रहनुपर्छ,’ उनले भने । माओवादी नेता वर्षमान पुन मंसिरमा कि फागुनमा भन्ने चर्चा भइरहे पनि कुन मितिमा चुनाव गराउने भन्ने निर्णय हुन समय लाग्ने बताउँछन् । ‘चुनाव भएको मितिले पाँच वर्षको कार्यकाल मंसिरमा नै पुग्ने हँॅुदा त्यतिबेला नै चुनाव गर्न उपयुक्त हुन्छ भन्ने मत छ,’ पुनको भनाइ छ, ‘गहिरो छलफल हुन बाँकी छ ।’

सोमबारको बैठकमा माओवादी अध्यक्ष दाहालले कात्तिकमै पनि चुनाव गर्न सकिने धारणा राखेका थिए । ‘अन्तर्राष्ट्रिय अभ्यास हेर्दा चुनाव भएकै मितिमा कार्यकाल सकिन्छ, त्यसैले कात्तिक अन्तिम वा मंसिर सुरुमा चुनाव गर्नुपर्छ भन्ने कुरा राख्नुभयो । त्यसमा कसैको पनि विमति थिएन,’ बैठकमा सहभागी एक नेताले भने । ती नेताका अनुसार संसद्मा पेस भएको बजेटलगायत महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र त्यसपछि मुलुकलाई चुनावतिर लैजाने तयारी छ ।

यहाँ कमेन्ट गर्नुहोस्