पेट्रोलियम पदार्थको मूल्यवृद्धि सुझबुझका साथ गरेका हौं : वाणिज्य सचिव

असाढ़ ६ काठमाण्डौं ___ उद्योग मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सुझबुझका साथ गरिएको बताएको छ ।वाणिज्य सचिव गणेश प्रसाद पाण्डेले सरकारसँग छलफल पछि सुझबुझका साथ पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको बताएका हुन् । नेपाल आयल निगमले आइतवार मध्यरातमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने,‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न बाध्यात्मक अवस्था छ । हामीले छलफल गरेर सुझबुझका साथ मूल्य बढाएका हौं ।’ उनले अन्तर्राष्ट्रिय मुलुकमा मूल्यवृद्धिका कारण मुद्रास्फीति बढेको बताउँदै नेपालमा पनि यसको असर पर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल आयल निगमले सरकारको नीति तथा कार्यक्रम बमोजिम पेट्रोलियम मूल्यवृद्धि गरिएको दाबी गरेको छ ।

आइतवार पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको निगमले सोमवार सरकारको नीतिमा नै पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित रुपमा समायोजनका लागि मूल्यवृद्धि गरिएको दावी गरेको हो । सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेश थानीले नीति तथा कार्यक्रममा स्वचालित मूल्य समायोजनका लागि अहिले मूल्य बढाउनुपरेको बताए ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । पेट्रोलको मूल्य अब प्रतिलिटर १ सय ९९ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ थियो । डिजेलमा पनि एकैपटक २७ रुपैया वृद्धि भएको छ । डिजेलको मूल्य अब प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्