पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

असाढ़ ७ काठमाण्डौं ___ नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढेसँगै सर्वसाधारणले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने भएको हो।पेट्रोलसँगै अब डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ। निगमका अनुसार हवाइ इन्धन (आन्तरिक)तर्फ १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, हवाइ इन्धन (बाह्य) तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार छ सय ४५ कायम भएको छ।

एलपी ग्यासको मूल्य भने हाललाई पूर्ववत् कायम राखिएको निगमले जनाएको छ। निगमका अनुसार पेट्रोल लिटरमा १३.५८ पैसा, डिजेल १३.९५ पैसा, मट्टितेल ४३.०६ रुपैयाँ नाफा, हवाइ इन्धन आन्तरिकमा १३.६१ रुपैयाँ नाफा, बाह्यमा ५६.६७ पैसा नाफा र एलपी ग्यास प्रतिसिलिन्डर ७५१.१४ रुपैयाँ घाटा रहेको छ।

यति मूल्य बढ्दा पनि मासिक रुपमा चार अर्ब ७० करोड घाटा रहेको निगमको दाबी छ। असार मसान्तसम्ममा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने देखिएको निगमले दाबी गरेको छ। एलपी ग्यासतर्फ मासिक २ अर्ब २८ करोड घाटा रहने निगमले जनाएको छ। यसअनुसार निगमले भारतीय आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम २२ अर्ब बक्यौता पुग्ने देखिएको जनाएको छ। आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले उक्त मूल्यवृद्धि गरेको हो ।

इन्डियन आयल कर्पोरेसनले निगमलाई चार दिनअघि (१६ जुन २०२२) मा नयाँ मूल्यसूची पठाएको थियो । सोअनुसार इन्धनको लागत मूल्य बढेको थियो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै पछिल्लो पटक बजेटको पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक सवारी र मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीको भाडामा ५.३० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको ६.९४ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको अधिकतम ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको छ । पछिल्लो पटक आइतबार डिजेलको मूल्यमा प्रतिलिटर २७ रुपैयाँसम्मले मूल्यवृद्धि भएसँगै मूल्य समायोजन गर्नु परेको विभागको भनाइ छ ।

आइतबार नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको छ भने डिजेल र मट्टितेलमा समान प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको छ । लगातार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण उपभोक्तालाई मार परेको तथा मूल्य वृद्धि हुने भन्दै सरकारको आलोचना हुँदै आएको छ।तर निगम भने इन्धनको मूल्य घट्नु वा बढ्नुका पछाडि सरकार वा निगमको कुनै भूमिका नभएको दाबी गर्छ ।

स्वचालित मूल्य प्रणाली लागु गरिएकाले भारतिय आयल निगम (आइओसी) ले जस्तो विवरण पठाउँछ त्यसकै आधारमा मूल्य समायोजन हुने बताइएको छ । पछिल्लो समय आइओसीले मूल्य बढाएर पठाएका कारण यहाँ पनि मूल्य बढेको निगमको तर्क छ। निगमले आइओसीबाट तेल खरिद गर्ने,उसले बढाएर पठाए यता पनि बढ्ने र घटाएर पठाए यहाँ पनि घट्ने निगमको तर्क छ ।

आइओसी आफैंले तेल उत्पादक राष्ट्रबाट कच्चा तेल किनेर ल्याउँछ र त्यसलाई प्रसोधन गर्छ। प्रसोधन गरिएको तेल हाम्रा सिमा नजिकको डिपोसम्म आइपुगेपछि निगमले आफ्ना डिपोसम्म ल्याउँछ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएको छ। त्यसकै असर नेपाली बजारमा देखिएको हो । निगमका अनुसार आइओसीले हरेक १५ दिनको अन्तराष्ट्रिय बजारको मूल्य विश्लेषण पश्चात नयाँ मूल्यसुची नेपाल आयल निगमलाई पठाउँछ। यसमा उसले सम्बन्धीत देशबाट ल्याउँदाका भाडा, प्रसोधन खर्च, नेपालको सिमा नजिकको डिपोसम्म ल्याउँदाको भाडा र सम्बन्धीत राज्यले उठाएको कर जोडेको हुन्छ।

विश्व बजारमा पेट्रोलियम, खाद्यान्न र खाने तेल आपूर्तिमा रसिया र युक्रेनको महत्वपूर्ण योगदान छ ।जति यी दुई देशबीच युद्ध लम्बिन्छ त्यति नै विश्व बजारमा पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने तेल र खाद्यान्नको मूल्यमा प्रभाव बढ्दै जान्छ । निर्यातका हिसाबले दुवै राष्ट्रसँग नेपाल कमजोर रहे पनि आयात व्यापारमा भने दुवै राष्ट्रसँग अर्बमा छ । खासगरी भान्सामा प्रयोग हुने सूर्यमुखी तेल, इलेक्ट्रोनिक सामग्री र पेट्रोलियम पदार्थ रूस र युक्रेनले अन्य मुलुकमा आपूर्ति गर्छन् ।

त्यसैगरी खाद्यान्नमा रसिया गहुँ र युक्रेन मकै निर्यातमा अग्र स्थानमा छन् । नेपालले आयात गर्ने यी देशका सामग्रीहरू अब अन्य देशबाट आउन थालेका छन् । आयात गर्ने देशका लागि आयात गर्नुको विकल्प रहन्न । त्यसकारण नेपालका लागि लोकसन र मूल्यवृद्धिको प्रभाव देखिन्छ । पेट्रोलियम तथा ग्यास निर्यातक देशमध्ये रसिया विश्वको प्रमुख देश रहेकाले यसको असर सबै विश्वमा पर्न जान्छ ।

आपूर्तिमा अवरोध भएका कारण विश्व बजारमा पेट्रोलियमको भाउ आकासिएको छ, अझै आकाशिन्छ । नेपाली बजारमा यसको प्रभाव देखिइसकेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिले चक्रीय प्रभाव देखाउँछ । नेपाल कृषिप्रधान देश भनिए पनि खाद्यान्नको आयात ठूलो मात्रामा हुने गरेको छ । जबसम्म देशमा उद्योग र उत्पादनहरू बढ्दैनन् तबसम्म विश्वबजारमा हुने यस्ता खालका हलचलले नेपाललाई असर गर्छ ।

यहाँ कमेन्ट गर्नुहोस्