निर्वाचन आयोगद्वारा कर्मचारीको सरुवा नगर्न नेपाल सरकारका नाममा निर्देशन

असोज ६ काठमाडौं___ निर्वाचन आयोगले असोज कुनै पनि कर्मचारीको सरुवा नगर्न नेपाल सरकारका नाममा निर्देशन जारी गरेको छ। असोज ५ गते (बुधबार)सम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिन पनि आयोगले सरकारलाई निर्देशन दिएको छ। निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फ मतदान गर्न पाउनेगरी कर्मचारी समेतको अस्थायी मतदाता नामावली संकलन गरिरहेको छ।

सर्वोच्च अदालतले विभिन्न समयमा दिएका आदेशको पालना गर्दै आयोगले कैदी तथा थुनुवा, सरकारी कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्न पाउनेगरी अस्थायी नामावली संकलन गर्न लागेको हो। ‘यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावालीमा कर्मचरीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ। यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावाली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ,’ आयोगले भनेको छ।

असोज ५ गतेसम्म सरुवा भइसकेको अवस्था भए तत्काल रमाना दिइ असोज ९ गतेसम्म सम्बन्धित (सरुवा भएर गएको) कार्यालयमा हाजिर भइसक्ने व्यवस्था मिलाउन आयोगले भनेको छ। आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमार्फत नेपाल सरकार, सबै प्रदेश सरकार र सबै स्थानीय तहहरु लगायत सबै सार्वजनिक निकायहरुलाई यस्तो निर्देशन दिएको हो।

यहाँ कमेन्ट गर्नुहोस्