मल्टिस्टारर फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक

पौष १८ काठमाडौं___ मल्टिस्टारर फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित फिल्म पारिवारिक सम्बन्धमा आउने उतारचढाव र बदलाको कथामा आधारित छ ।३ मिनेट लामो ट्रेलरले कथावस्तुको घुम्ती, चरित्र चित्रण र पात्र स्थापनाबारे प्रकाश पार्छ । ट्रेलरअनुसार मेनुका प्रधान र सन्तोष अधिकारीबीचको सम्बन्धमा तेस्रो व्यक्तिको कारण आउने टसलसँगै कथा अघि बढ्छ ।

सन्तोष र शुभेच्छा खड्का एकअर्कामा आकर्षित हुँदा यसले निम्त्याउने पारिवारिक संघर्ष यसमा प्रस्तुत छ । अर्कोतर्फ, अर्पण थापा र प्रमोद अग्रहरिबीच बदलाको आयाम छ । ‘धौली’ र ‘पञ्चेबाजा’जस्ता ग्रामिण जीवनका कथावस्तुमा फिल्म बनाएका घनश्याम लामिछानेले यसमा पनि गाउँ र सम्बन्धलाई उधिन्ने प्रयत्न गरेका छन् । मानवीय सम्बन्ध उनको कथाको केन्द्रमा देखिन्छ ।

दुर्घटनामा घाइते भएर डेढ महिनापछि अभिनयमा फर्किएका पोखरेली अभिनेता प्रकाश घिमिरेको दृश्य फिल्मको आकर्षक पक्ष हो । घिमिरे यसमा प्राकृतिक अभिनयमा फिट छन् । फिल्मको केन्द्रीय चरित्रमा सन्तोषलाई प्रस्तुत गरिएको छ । यो उनको डेब्यु फिल्म समेत हो ।कूल मिलाएर ‘चित्रा’ बाबुछोरीको सम्बन्धको कथामा आधारित फिल्म हो । अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरेल लगायतका सहायक कलाकार पनि यसमा देखिन्छन् ।

निर्माता आशिष थापा हुन् भने अधिकारी कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज शिवाकोटीको संगीत छ । सन्तोष अधिकारी फिल्म्स, अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा फिल्म तयार भएको हो । फिल्म पुस २७ गते देशब्यापी प्रदर्शन तयारीमा छ ।

यहाँ कमेन्ट गर्नुहोस्