सुगम संगीतका श्रष्टा योगेश बैद्य अब हामीमाझ रहेनन्

माघ ६ काठमाण्डौं ___ सपना भुलाई सारा आँशु पिएर जाउ,
मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाउ…

यो कालजायी गीतका श्रष्टाका योगेश बैद्य अब हामीमाझ रहेनन् । उनको उपचारको क्रममा शुक्रबार राती १२ बजे काठमाडौंका सुन्धारा स्थित भ्याली अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि मधुमेह र मृगौलासम्बन्धि रोगबाट पीडित थिए । एकपटक मृगौला समेत फेरेका उनी सोही समस्याका कारण हामीबाट टाढा भए । दिवँगत श्रष्टा बैद्यको शुक्रबार दिउँसो काठमाडौंको पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको छ । उनको परिवारमा दुई छोरी र एक छोरा रहेका छन् ।

उनको अन्त्यष्टी अघि काठमाडौंको नक्सालमा रहेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राँगनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । सो सभामा अग्रज संगीतकार शम्भुजीत बासकोटा, प्राज्ञहरु उन्नती शिला बोहरा, चेतन सापकोटा, अग्रज गायिका मिरा राणा, संगीतकारहरु टिका भण्डारी, मिलन मोक्तान, जुगल डँगोल, महेश खड्का, बसन्त सापकोटा, योगेन्द्र प्रसाद उपाध्याय, शँकर थापा‘स्माई’ गीतकार तथा डा. अरुण सायमी, गीतकार विश्व बल्लभलगायत विभिन्न श्रष्टाले उनको पार्थिव शरीरमा फुल गुच्छा अर्पण गर्दै बैद्यप्रति श्रद्धासुमन अर्पण गरे ।

सो क्रममा गायक बैद्यकै गीत सपना भुलाई सारा…गायर विभिन्न कलाकारहरुले उनलाई अन्तिम विदाई गरे । अग्रज गायिका मिरा राणा, लोभन भट्टराई देखि नयाँ पुस्तासम्मका विभिन्न गायक गायिकाले उनको सो गीत गाएका थिए । ‘नेपाली सुगम संगीतमा श्रष्टा योगेश बैद्यको महत्वपूर्ण योगदान रहेको छ । उहाँले रेडियो नेपालमा लामो समय रहेर नेपाली संगीतको श्रीबृद्धिमा योगदान दिनु भयो । उहाँको निधनले आज फेरी नेपाली संगीत उधोगलाई एउटा नक्षेत्र गुमाएको छ ।’ अग्रज संगीतकार शम्भुजीत बासकोटाले शोक मन्तव्य व्यक्त गर्दै कार्यक्रममा भने ।

उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । ७७ वर्ष अघि काठमाडौंको गुहेश्वरीमा जन्मेका उनको बाल्यकाल नरदेवीमा बित्यो । त्यसपछि उनी सुन्धारा क्षेत्रमा बस्दै आएका थिए । २०१४ सालताका चिनियाँ प्रधानमन्त्री चाउ एन लाई नेपाल आउँदा युग कवि सिद्धिचरण श्रेष्ठले लेखेको गीत सुनाए पछि उनको चर्चा सुरु भएको थियो । त्यसपछिबाट उनी निरन्तर गायनमा लागि रहे । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए ।

इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुरयाए । रेडियोमा निर्देशक भोग्यप्रसाद शाहलगायत थुप्रै कलाकारसामु उनले दुई दर्जन गीत सुनाए । मोहम्मद रफी, तलत महमुदलगायतको । सबैले तारिफ गरे । उनको साउण्ड परीक्षा  त्यही भयो । त्यसपछिबाट उनी व्यबसायिक रुपमा गायनमा लागेका थिए । तथापि २०२२ मा किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेश वैद्यले पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’रेकर्ड गरेका थिए ।

गायक योगेशका ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ जस्तै थुप्रै नेपाली तथा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता विभिन्न नेपाल भाषाका गीतहरु उनका लोकप्रिय छन् ।

पछिल्लो समय मधुमेहबाट ग्रस्त भएका उनको दुबै मृगौलाले कामगर्न छाडेपछि केही समय अघि उनले मृगौला फेरेका थिए । त्यसपछिबाट उनी इन्फेक्सनको डरले घरमै रहे । संगीतकार जुगल डँगोलले योगेशको घरमै पुगेर एउटा नेपाली भाषाको गीत रकेर्ड गराएर बजारमा ल्याएका थिए । आफुले अर्को गीत यही शनिबार उनकै घरमा रकेर्ड गर्ने तयारी गरिहेको बेला बिहिबार राती नै उनको निधन भएको जुगलले बताए ।

एउटा गीतलाई करिब ६ महिनाको तयारी गरेर मात्र गाउने उनको विशेषता थियो । तर आफ्नो जीवनकै लोकप्रिय गीत सपना भुलाई सारा भने उनले एक दिनकै तयारीमा रेकर्ड गरेका थिए । यो नै उनको सबैभन्दा लोकप्रिय गीत हो । उनका करिब १२५ वटा गीतहरु रकेर्ड भएका छन् ।उनी बनस्पति विज्ञ थिए । वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि उनी लोकसेवा आयोग दिएर प्रथम भएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए ।

यहाँ कमेन्ट गर्नुहोस्