अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नेपाली संस्करणको ट्रेलर सार्वजनिक

माघ ११ काठमाडौं___ फागुन ११ गतेदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को नेपाली संस्करणको ट्रेलर बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा सार्वजनिक गरिएको छ । मिलन चाम्सद्वारा निर्देशित यो फिल्मको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्यूब च्यानलबाट बिहीवार नै सार्वजनिक गरिएको छ ।

यसअघि फस्ट लुक्स र टीजर सार्वजनिक गरेपछि ‘गोर्खा वारियर’ प्रति दर्शकको चासो बढेको थियो । यसैक्रममा फिल्मको ट्रेलरलाई रिलिज समारोहमा सञ्चारकर्मी तथा सिनेकर्मीले खुलेर प्रसँसा गरेका छन् । गोर्खा वारियरको ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया प्राप्त भईरहेको छ । दुई मिनट २२ सेकेन्डको यो फिल्मको ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सँघर्ष र पीडालाई प्रस्तुत गरिएको छ ।

सन १९४९ ताका दोश्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरुले लडेको मलाया युद्धको कथामा यो फिल्मको कथा केन्द्रित रहेको छ । त्यो समय मलाया युद्ध कति कठिन थियो र उक्त युद्धमा गोर्खा सैनिकहरुले कति संघर्ष गर्नु पर्यो भन्ने कुराको सारांश ट्रेलरमा देखाईएको छ । ट्रेलरमा यो फिल्मको संक्षिप्त कथा खुलाईएको छ । थोरै भए पनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा यसको केही कथा खुलाईएको निर्देशक चाम्सले बताएका छन् । यद्यपि, फिल्म भित्र के छ भन्ने कुरा गोर्खा वारियर नहेरी थाहा नहुने उनले बताए ।

कार्यक्रममा बोल्दै निर्देशक चाम्सले भने – ‘बीर गोर्खाली सैनिकले पहिलो र दोश्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरु छन् । बीरताका ती कथा बिस्तारै हराउँदो जाने हुनाले हामीले १९४९ को मलाया युद्धको कथालाई यो फिल्ममा प्रस्तुत गरेका हौं ।’ अन्तराष्ट्रिय जगतमा दर्शकको मन जितेको यो फिल्मले नेपालका दर्शकको पनि मन जित्ने विश्वास उनले व्यक्त गरे ।

यो फिल्मबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी पश्चात आज अभिनेताको रुपमा यो फिल्ममा आफू आएको बताए । आफू गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफुलाई केही सजिलो भएको उनले बताए ।

यो फिल्मको ट्रेलर अनुसार ३१ अगष्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया ९हालको मलेशिया० त्यसअघि बेलायतको अधिनमा थियो । आफ्नो स्वतन्त्रताको लागि मलायाका बिद्रोही समुहले १९४० को सुरुवात देखि नै बेलायती शासकविरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए । प्रारम्भिक चरणमा बेलायती सैनिकलाई समेत ती बिद्रोहीहरुले बन्दी बनाएपछि त्यहाँ बेलायतले पुन पठाईएको गोर्खा सैनिकले मलायाको जंगलमा सन १९४९ मा गरेको भिषण युद्धको झलक ट्रेलरमा समेटिएको छ । युद्धका क्रममा गोर्खाली सैनिकको परिवारप्रतिको बिछोड र सम्झनाका कारुणिक दृष्य पनि ट्रेलरमा हेर्न पाईन्छ ।

गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको ट्रेलर हेरिरहेको महसुस दर्शकलाई हुने गर्दछ । गोर्खा वारियर रिलिज अघि नै निकै चर्चामा छ । पहिलोपटक बेलायतमा हालै ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ ले अन्तराष्ट्रिय जगतमै चर्चा पाएको हो । त्यसो त गोर्खा वारियरले हालै ‘ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टस्’ ९बाफ्टा० अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा झनै बढ्यो ।

यो फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियनगरी चार भाषामा निर्माण भएको छ । यो फिल्मको नेपाली संस्करण तयार भईसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी सँस्करणको निर्माण पनि अन्तिम अबस्थामा पुगेको छ । यो फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

रितेश चाम्सले अभियनमा बेलायतबाट डिप्लोमा गरेका छन् । गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’ को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यो फिल्मको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

यो फिल्म लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् । यो फिल्मलाई नेपालमा श्री बेंकेटेस फिल्मस्का मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा बितरण गर्दैछन् ।

यहाँ कमेन्ट गर्नुहोस्