सत्ता साझेदार दलहरूबीच सरकारमा सहभागिताबारे सहमति

फागुन २३ काठमाडौँ___ सत्ता साझेदार दलहरूबीच सरकारमा सहभागिताबारे सहमति भएको छ। सहमतिमा सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले महत्त्वपूर्ण मन्त्रालयबिना नै सरकारमा सहभागी हुने भएको छ। एमालेबाट भौतिक मन्त्रीको रूपमा रघुवीर महासेठको नेतृत्व सरकारमा जाने भएको छ। यस अगाडि एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक मन्त्री थिए। एमाले आठ मन्त्रालयसहित सरकारमा जाँदै छ। एमालेबाट यस अगाडि नै पदम गिरीले विना विभागीय मन्त्रीको रूपमा शपथ लिइसकेका छन्। अन्यको नाम सार्वजनिक भएको छैन।

दोस्रो ठुलो दल माओवादी केन्द्रले अर्थ र परराष्ट्रसहित पाँच मन्त्रालय लिने भएको छ। यस अगाडि यी दुवै मन्त्रालय नेपाली कांग्रेसले लिएको थियो। नयाँ गठबन्धनमा कांग्रेस प्रतिपक्षमा गएको छ। माओवादीबाट वर्षमान पुन अर्थ, नारायणकाजी श्रेष्ठ परराष्ट्र, रेखा शर्मा सञ्चार र शक्ति बस्नेत जलस्रोत मन्त्री बन्ने भएका छन्। हितमान तामाङ विना विभागीय रुपमा सपथ लिइसकेका छन्। उनले पर्यटन मन्त्रालय पाएका छन्। यस अगाडि सो मन्त्रालयमा माओवादीका सुदन किराँती मन्त्री थिए।

गठबन्धनको तेस्रो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी गृहसहित चार मन्त्रालय लिएर सरकारमा जाने भएको छ। रास्वपाबाट गृह रवि लामिछाने, डिपी अर्याल श्रम, सुमना श्रेष्ठ शिक्षा र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा जाने भएका छन्। यस अगाडि पुस १० को गठबन्धनमा सरकारमा जाँदा रास्वपा गृह, शिक्षा, श्रम र स्वास्थ्य राज्यमन्त्रीसहित सरकारमा गएको थियो। सुमना र बिराज नयाँ हुन्। रवि र डिपी दोहोरिएका छन्।

एकीकृत समाजवादी समेत दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ। एकीकृत समाजवादीले पाउने मन्त्रालय र मन्त्रीको नाम सार्वजनिक भएको छैन। जनता समाजवादी पार्टीबाट कुनै निर्णय आएको छैन। एकीकृत समाजवादी समेत सरकारमा सहभागी हुने निर्णय गरेपछि गठबन्धनमा पाँच दल भएको छ भने प्रदेशहरूमा सरकार बनाउन समेत गठबन्धनलाई सहज भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्