विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

फागुन २५ काठमाडौँ ___आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । यस वर्षको महिला दिवसको नारा महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ । दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरू आयोजना गरिँदै छ ।

समानता र समान अवसरका लागि महिलामाथि हुने विभेद अन्त्य गर्न हरेक देशमा कानुन बनेका छन् तर विकसित देशमा पनि कानुनले निर्दिष्ट गरेका आधारमा महिलाले पाउने हक अधिकार र स्वतन्त्रता पाउन सकेका छैनन् भने हाम्रो देश नेपालमा त झन् नारा र संविधानमा मात्रै महिलाले हक अधिकार छ । हरेक ठाउँमा महिलाको समान सहभागिता सुनिश्चितता आजको आवश्यकता हो भन्ने कुरालाई कहिल्यै लागू गर्न सकेको देखिँदैन । हर ठाउँमा महिला सहभागि गराइएको त छ तर अधिकारविहीन बनाएर उपस्थितिका लागि मात्रै ।

सरकारले जतिसुकै ठूला कुरा र न्यायका कुरा गरे पनि महिलाले पाउने हक अधिकारमा नेपाली समाज अझै पछाडि छ । आज पनि नेपाली महिलाले घरघरमा हिंसाको सिकार हुनुपरेको छ । महिलाले आज पनि हर समय सुरक्षित रूपमा आफूलाई समाजमा प्रस्तुत गर्न सकेका छैनन् । मलाई घरेलु हिंसा भएको छ भनेर महिलाले निर्धक्क समाजमा भन्न सक्ने अवस्था छैन । महिलालाई राजनैतिक अवसरमा पनि निकै विभेद गरिएको छ । महिलालाई विशेष हक अधिकार केही चाहिएको छैन, समाजमा समान अवसर र सम्मान आवश्यक छ ।

तर हामीकहाँ नारी दिवस नारीमाथि हुने हिंसा, दमन, विभेद र सामाजिक रूपमा पछाडि पर्नुका कारण देखाउँदै अब हामी सबै मिलेर त्यसको अन्त्य गर्नुपर्छ भन्ने उद्घोष गर्ने दिन मात्रै सावित भएको छ । वर्षमा एक दिन कार्यक्रम गर्दैमा महिलामाथि हुने गरेका भेदभाव र विभेद अन्त्य गर्न सकिन्छ होला र ? महिलाविरुद्ध हुने सबै खालको सामाजिक र राजनैतिक भेदभाव अन्त्य हुने गरी समाजलाई रूपान्तरण गर्न सके मात्रै नारी दिवस मनाउनुको औचित्य सावित हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्