नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएन

चैत्र २ काठमाडौं___ मानव तस्करले अनेक प्रलोभन देखाई नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएको छैन । घरेलु कामदारमा आकर्षत सेवा सुविधा हुने भन्दै नेपाली महिलालाई कुवेत पुर्‍याउने गरिएको छ । तस्करले भिजिट भिसामा नेपाली महिलालाई कुवेत पुर्‍याएको भेउ पाएपछि सरकारले त्यसमा कडाइ गरेको थियो । तर, कुवेत जानेक्रम रोकिएको छैन ।

“कुवेतमा ३० हजार नेपाली महिला कार्यरत छन् । यीमध्ये २२ देखि २५ हजार नेपाली महिला अवैध तरिकाले कुवेत आएका हुन् । सबै घरेलु कामदारका रूपमा यहाँ कार्यरत छन्,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बाह्रखरीसँग भने ।

नेपालले सन् २०१४ देखि खाडी राष्ट्रमा घरेलु कामदारका रूपमा जान नेपाली महिला कामदारमाथि रोक लगाएको छ । तर, तस्कारले विभिन्न प्रलोभन देखाई ठूलो संख्यामा नेपाली महिलालाई कुवेत पुर्‍याउने गरेका छन् । “नेपाल सरकारको अनुमति नलिई, बिनाश्रम स्वीकृति ठूलो संख्यामा नेपाली महिला अवैध तरिकाले कुवेत आइरहेका छन् । आउनेक्रम घटेको छैन, निरन्तर चलिरहेको छ,” राजदूत लम्सालले भने ।

खाडी राष्ट्र पुगेका नेपाली महिलाले धेरै दुःख पाएपछि सरकारले घरेलु कामदारका रूपमा त्यहाँ जान रोक लगाएको थियो । सो रोक सरकारले खुलाएको छैन । तस्करले विभिन्न देश हुँदे नेपाली महिलालाई कुवेत पुर्‍याउने गरेका छन् । पछिल्लो समय तस्करले नेपाली महिलालाई कुवेत पुर्‍याउन मुख्यतः तीन बाटा प्रयोग गरिरहेका छन् । पहिलो, भारत हुँदै कुवेत । दोस्रो, काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै कुवेत । तेस्रो, सिंगापुर हुँदै कुवेत ।

बाटो जुन प्रयोग गरे पनि तस्करले नेपाली महिलालाई भिजिट भिसामा कुवेत पुर्‍याउने गरेको पाइएको छ । यसरी ठूलो संख्या सुरुमा भिजिट भिसामा यूएई जाने र त्यहाँबाट कुवेत पुग्ने गर्छन् । “हाम्रो अध्ययनले अवैध तरिकाले कुवेत आउने नेपाली महिलाहरू प्रायः सबै भिजिट भिसामा आएको देखाउँछ,” राजदूत लम्सालले भने ।

अध्यागमन विभागका अनुसार, सन् २०२३ मा दुई लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका थिए । तीमध्ये सबैभन्दा ठूलो संख्या ५५ हजार ६१८ जना भिजिट भिसामा यूएई गएका थिए । भिजिट भिसामा यूएई जानेमा ३९ हजार ३२६ पुरुष र १६ हजार २९० महिला थिए । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जानेको मात्र हो । भारत हुँदै जानेको संख्या अझ ठूलो रहेको बताइन्छ ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार, सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली त्यहाँ पुगेका थिए । यो विवरण यूएई सरकारले नेपाली दूतावासलाई दिएको थियो । यो तथ्यांकले नेपालबाट सिधै भिजिट भिसामा यूएई जानेभन्दा भारतलगायत देशबाट त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो हुने गरेको छ ।

नेपालबाट सिधै भिजिट भिसामा कुवेत जानेको संख्या भने निकै कम छ । सन् २०२३ मा ४३२ महिला र ११७ पुरुष गरी कुल ५४९ नेपाली भिजिट भिसामा काठमाडौंबाट कुवेत गएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।अवैध तरिकाले कुवेत पुगी घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला कुन क्षेत्र, घरमा काम गरिरहेका छन् भन्ने त्यहाँस्थित नेपाली दूतावासलाई समेत थाहा हुँदैन ।

यस्ता महिलाले उद्धारका निम्ति फोन गरे पनि न आफू बसेको स्थान बताउन सक्छन् न घर नै । “घर मालिकको यातना सहन नसकी महिलाहरूले उद्धारका लागि फोन गर्छन् । तर, आफू कुन ठाउँमा छु भन्ने उनीहरूले बताउन सक्दैनन् । उद्धार गर्न कहाँ जानु ?,” राजदूत लम्सालले भने । दूतावासको ‘सेल्टर’मा हाल करिब ३० यस्ता महिला छन्, जो घर मालिकको यातना सहन नसेकर भागेर आएका छन् वा दूतावासले उद्धार गरेर ल्याएको छ । हरेक महिना ३० देखि ४० यस्ता महिलालाई दूतावासले उद्धार गरी नेपाल पठाउने गरेको छ । अर्थात्, हरेक दिन कोही न कोही नेपाली महिला यातना सहन नसकी भागेर दूतावासमा पुग्ने गर्छन् ।

वर्षमा ४०० भन्दा बढी महिलालाई उद्धार गरी दूतावासले नेपाल पठाउने गरेको छ । “यसरी आउने महिलाहरूलाई खाना र बस्ने सुविधा हामीले उपलब्ध गराउँदै आएका छौँ । नेपाल फर्कन आवश्यक प्रक्रिया पनि हामीले पूरा गरिदिन्छौँ,” उनले भने । कुवेतमा वैध र अवैध तरिकाले पुगी कार्यरत नेपालीको संख्या एक लाख सात हजार छ । यीमध्ये अवैध तरिकाले कुवेत पुग्ने नेपाली महिलाको संख्या २२ देखि २५ हजार छ । यसरी कुवेत पुगी काम गर्ने कोही महिला नेपाली दूतावासको रेकर्डमा भेटिँदैन ।

“अवैध तरिकाले आएका महिलालाई उद्धार गर्नुपरे उनीहरू कहाँ छन् भन्ने नै थाहा हुँदैन । उनीहरू हाम्रो रेडर्कमा हुँदैनन् । उनीहरूलाई कसले ल्यायो भन्ने पनि थाहा हुँदैन,” उनले भने ।उद्धार गरिएका ९० प्रतिशत महिलाले आफूहरूलाई तस्करले नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट केहीलाई दुबई हुँदै र कतिपयलाई सिधै कुवेत ल्याएको बताउने गरेका छन् ।

कुवेतलगायत खाडी राष्ट्रमा घरेलु महिला कामदारको माग ठूलो छ । यसैकारण नेपाली महिलालाई घरेलु कामदारका रूपमा प्रयोग गर्न कुवेतका घर मालिकले प्रतिव्यक्ति मासिक ६–७ लाख रुपैयाँसम्म खर्चने गर्छन् । यो रकम तस्करले बुझ्ने गर्छन् ।

कबुल गरेअनुसारको तलब नपाए र घर मालिकको यातना सहन नसक्नेहरू भागेर दूतावासको शरणमा पुग्ने गर्छन् । घरबाट भाग्न नसक्ने कतिपय महिलाले आत्महत्या गर्ने गरेको पाइएको छ । सन् २०१८ मा कुवेतमा मृत्यु हुने कुल ४८ नेपालीमध्ये १२ महिला थिए । ती अधिकांश महिलाको मृत्युको कारण सडक दुर्घटना र आत्महत्या हुने गरेको छ । घरबाट भाग्ने क्रममा बाटो काट्न नजान्दा धेरै महिलाले सडक दुर्घटनामा परी ज्यान गुमाउने गरेका बताइन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्